close

हर्क साम्पाङको नाममा साढे ५ लाख बढी फलोअर भएको नक्कली फेसबुक पेज सक्रिय, झुक्किनु भयो कि ?

टेकपाना टेकपाना

फागुन ४, २०८२ १६:९

हर्क साम्पाङको नाममा साढे ५ लाख बढी फलोअर भएको नक्कली फेसबुक पेज सक्रिय, झुक्किनु भयो कि ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङको नाम र तस्बिर दुरुपयोग गरी खोलिएको एक नक्कली फेसबुक पेजबाट भ्रामक र उत्तेजक सामग्री प्रचार भइरहेको पाइएको छ । ५ लाख ६२ हजारभन्दा बढी फलोअर रहेको ‘हर्क साम्पाङ ए रेभोलुसन’ (facebook.com/HarkaSampangRevolution) नामको उक्त पेज आधिकारिक नभएको साम्पाङको सचिवालयले स्पष्ट पारेको हो ।

साम्पाङको आधिकारिक फेसबुक पेजमा १२ लाखभन्दा बढी फलोअर रहेका छन् । तर, ५ लाख ६२ हजार फलोअर भएको नक्कली पेज पनि उत्तिकै सक्रिय रहँदै दिनमै दर्जनौँ पोस्टहरू गर्ने गरेको र त्यसलाई धेरै सर्वसाधारणले आधिकारिक ठानेर भ्रममा परिरहेको सचिवालयको निष्कर्ष छ ।

साम्पाङको सचिवालयका सदस्य रसिक थेबेका अनुसार यो पेज कुनै फ्यानले सञ्चालन गरेको भए पनि यसबाट सबै सम्प्रेषित सामग्रीहरू हर्क साम्पाङको आधिकारिक धारणासँग मेल खाँदैनन् । तर कतिपय पोस्ट साम्पाङको वास्तविक पेजबाट कपी गरिएका छन् ।

उक्त पेजबाट पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य परम्परागत दल र तिनका नेताहरूलाई लक्षित गरी ‘दलाल’, ‘भ्रष्ट’, ‘एजेन्ट’ जस्ता आक्रामक र अपमानजनक शब्दहरू प्रयोग गरी पोस्टहरू गर्ने गरिएको छ । यस्ता पोस्टमा सयाैँ रियाक्सन-कमेन्ट आउने गरेका छन् ।

पेज ट्रान्सप्यारेन्सी अध्ययन गर्दा १० अगस्ट २०२२ मा खोलिएको नक्कली पेज नेपालबाटै दुई जना व्यक्तिले सञ्चालन गरिरहेको देखिन्छ । जबकि २ जनवरी २०२० मा खोलिएको साम्पाङको आधिकारिक पेजमा एक जना मात्र एड्मिन (हर्क साम्पाङ) रहेका छन् । उक्त नक्कली पेजको सोसल मिडिया लिङ्क सेक्सनमा राखिएको एक्स (ट्वीटर) को अकाउन्ट समेत हाल सस्पेन्डेड अवस्थामा छ । यस्तै, यस पेजको ब्रोडकास्ट च्यानलमा १० हजारभन्दा बढी सदस्यहरू जोडिएका छन् ।

नक्कली पेजमा हर्क साम्पाङको चुनावी प्रचार, घरदैलोका रिल्स र भावनात्मक सामग्रीहरू राखेर साम्पाङ आफैँले चलाएको जस्तो भ्रम सिर्जना गर्ने गरिएको छ ।

साम्पाङका सचिवालय सदस्य थेबेले कुनै पनि सामाजिक सञ्जालमा आधिकारिक जानकारीका लागि श्रम संस्कृति पार्टी र साम्पाङको १२ लाख फलोअर भएको सक्कली पेज मात्र पछ्याउन अनुरोध गरे ।

 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १६:३२