close

एक महिलाको अश्लील भिडिओ आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा अर्की महिला विरुद्ध मुद्दा

टेकपाना टेकपाना

फागुन ५, २०८२ ११:५

एक महिलाको अश्लील भिडिओ आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा अर्की महिला विरुद्ध मुद्दा

काठमाडौँ । अर्की महिलाको अनुमति बिना उनको गोप्य (यौनजन्य) भिडिओ आफन्तलाई पठाएर सामाजिक प्रतिष्ठामा आँच पुऱ्याएको र चरित्र हत्या गरेको आरोपमा पाल्पाकी ३९ वर्षीया शर्मिला पौड्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ। अदालतमा दायर अभियोग पत्र अनुसार पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-५ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा बस्ने पौड्यालले विद्युतीय माध्यमको दुरुपयोग गरी पीडित महिलाको मानहानि गरेको दाबी गरिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएको जाहेरी अनुसार पीडित महिलाले करिब ३-४ वर्षअघि आफ्नै घरमा गाउँको एक पुरुषसँगको सहमतिमा यौन सम्पर्क गरिरहेको अवस्थामा आफ्नै मोबाइलबाट एउटा भिडिओ खिचेकी थिइन् । सोही भिडिओ कुनै माध्यमबाट अभियुक्त शर्मिला पौड्यालको हातमा पुगेको थियो ।

पौड्यालले उक्त भिडिओ पीडित महिलाकी नातामा देउरानी पर्ने रुपसरा पाण्डेय (नाम परिवर्तन) को ह्वाट्सएपमा पठाइदिएकी थिइन् । पाण्डेयले प्रहरीलाई दिएको बयान अनुसार पौड्यालले आफ्नो ह्वाट्सएप नम्बरबाट उनलाई भिडिओ पठाएकी थिइन् । उनले उक्त भिडिओको स्क्रिनशट पीडितलाई उपलब्ध गराएपछि मात्रै आफ्नो चरित्र हत्या भइरहेको कुरा पीडितले थाहा पाएकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पेस गरेको अभियोग पत्रमा प्रतिवादी शर्मिला पौड्याललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरिएको छ । यस कानुन अनुसार सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन गर्ने वा महिलालाई हैरानी र अपमान गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

सरकारी वकिलले पौड्यालबाट पीडित महिलालाई पुगेको मानसिक यातनाको उचित मूल्याङ्कन गरी मनासिब क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत माग गरेको छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार प्रतिवादी शर्मिला पौड्याल हाल फरार छिन् । प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गरी कारबाही अगाडि बढाउन अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ ११:७