काठमाडौँ । महाराजगञ्जमा वृद्ध पैदलयात्रीलाई एक सुकिलोमुकिलो देखिने जोडीले दुर्व्यवहार गरेको दृश्य भाइरल भएको छ । मंगलबारदेखि फेसबुक, टिकटक, एक्स लगायतका प्लेटफर्ममा वृद्ध पुरुषलाई कुटपिट गरेको भिडिओ भाइरल भइरहेको हो ।
भिडिओमा हरियो रङ्गको गाडी (बा ३ च ११०३) बाट एक अधवैँशे पुरुष बाहिर निस्कन्छन् । उनले सडकमा रहेका एक वृद्ध पुरुषलाई ‘ओ जड्याहा के भन्या तैँले, ...गाली गर्दै हिँड्छस्’ भन्दै मुक्का हानेर केही पर पुर्याउँछन् ।
लगत्तै गाडीबाट एक महिला पनि ओर्लिन्छिन् र उनले पनि ती वृद्धलाई औँला ठड्याउँदै ‘धेरै नबोल् है खालास् नि’ भन्दै हप्काएको सुनिन्छ । त्यसपछि पनि पुरुषले वृद्धलाई झापड हान्छन् । ती वृद्ध असहाय र मदिरा सेवन गरेको जस्तो अवस्थामा देखिन्छन्, प्रतिकार गर्न सक्दैनन् ।
दुर्व्यवहारको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो जोडीको कडा आलोचना भइरहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै दुर्व्यवहार गर्ने जोडीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । “सडक बीचमै गाडी रोकेर बिनाकारण मान्छे कुट्ने हैकमवादीलाई कारबाही होस्,” एक प्रयोगकर्ताले फेसबुकमा लेखेका छन् ।
कतिपयले ती वृद्धले केही नराम्रो बोलेको भए पनि कुटपिट गर्नु पुरुषार्थ नभएको टिप्पणी गरेका छन् । “गाडी राम्रो चढ्दैमा र पैसा हुँदैमा संस्कार हुँदैन रहेछ भन्ने यो प्रमाण हो,” अर्का एक प्रयोगकर्ताको प्रतिक्रिया छ ।
कतिपयले जाँड खाएको मान्छेभन्दा नखाएको (कुट्ने) मान्छेको चेत झन् खराब देखिएको भन्दै कटाक्ष गरेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १४:५८
