close

वृद्ध कुटपिट घटनामा एआई सिर्जित तस्बिरहरू छ्यापछ्याप्ती, प्रहरीले भन्यो- ‘भ्रम नफैलाऔँ'

टेकपाना टेकपाना

फागुन ७, २०८२ १८:२५

वृद्ध कुटपिट घटनामा एआई सिर्जित तस्बिरहरू छ्यापछ्याप्ती, प्रहरीले भन्यो- ‘भ्रम नफैलाऔँ'

काठमाडौँ । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा एक वृद्ध पैदलयात्रुलाई कुटपिट गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक तस्बिरहरू फैलिएका छन् । गत मंगलबार (१७ फेब्रुअरी) मुख्य सडकमा वृद्धमाथि भएको दुर्व्यवहारको भिडिओ भाइरल भएपछि सोही दृश्यमा देखिएका महिला र पुरुषको अनुहार प्रयोग गरी नक्कली तस्बिरहरू बनाइएको पाइएको हो । 

गत १८ फेब्रुअरीमा ‘Miss Pabi 41’ नामको फेसबुक पेजले घटनामा संलग्न पुरुष र महिलाले प्रहरीको अगाडि नै वृद्धलाई  थर्काइरहेको जस्तो देखिने एआई तस्बिर पोस्ट गरेको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “माफी माग्नुको साटो उल्टै थर्काउदै साली भेना, यिनिहरु लाई कस्तो स'जाय दिदा ठिक होला?  ❤️🙏😮👏” ।

१८ फेब्रुअरी बिहान ९:१९ मा ‘Harish Bhattrai’ ले उठबस गरेको देखिने एआई फोटो शेयर गरेको छ । उक्त फोटोको स्टाटसमा लेखिएको छ, “गाडीबाट उत्रिएर वृद्ध कु'ट्ने दम्पतिले गरे उठबस, के स'जाय कमेन्ट गर्नुहोला ❤️🙏😮👏 #highlight #love”। हेर्नुहोस् पोस्ट । 

गाडीबाट उत्रिएर वृद्ध कु'ट्ने सालि भिनालाई कस्तो स'जाय दिदा ठिक होला? स्टाटससहित ‘Tenacity Tv’ ले पनि सोही किसिमको एआई तस्बिर पोस्ट गरेको छ । हेर्नुहोस् पोस्ट । 

सामाजिक सञ्जालमा अन्य कयौँ प्रयोगकर्ताहरूले पनि उठबस गरेको, वृद्धलाई थर्काइरहेको देखि महिला-पुरुषले चुम्बन गरेकोसम्म एआई तस्बिरहरू बनाएर भाइरल गराएका छन् । जसमा  ‘Shanti Thapa’, ‘Xettri Xuchchi Bhabana’, ‘Tara Rana’, ‘ktm post’, ‘comrade jamu’, ‘Mamta Magar’, ‘Thapamagar Bishnu’ सहित कयौँ फेसबुक पेज र अकाउन्टहरू संलग्न रहेका छन् । ती पोस्टहरूमा हजारौँ रियाक्सन गरिएको छ । 

वृद्ध पुरुषलाई दुर्व्यवहार गरेको भिडिओको आधारमा प्रहरीले घटनामा संलग्न ४२ वर्षीय पारस बमलाई पक्राउ गरी कानुनी अनुसन्धान अगाडि बढाइसकेको छ । यसरी कानुन बमोजिम अनुसन्धान भइरहेको गम्भीर विषयमा काल्पनिक र भ्रामक सामग्री सम्प्रेषण गरी जनमानसमा गलत सन्देश प्रवाह भएकोप्रति प्रहरीले चासो देखाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले विज्ञप्तिमा भनेको छ, “कानुन बमोजिम अनुसन्धान भएको विषय उपर सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडिओ तथा सूचना सम्प्रेषण गरिने कार्य पुनः अनुसन्धानको विषयबन्ने तर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जबाफदेहिता वहन गर्ने मानवीय कर्तव्यको पालना गर्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”

 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ १८:३१