निर्वाचनमा मिथ्या र हानिकारक सूचना फैलाउने ३६७ सामग्रीमाथि कारबाही सिफारिस
फागुन ८, २०८२ १८:२
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आफ्नो सक्रियता तीव्र पारेको छ । यसै क्रममा सामाजिक सञ्जालमार्फत मिथ्या, भ्रामक र हानिकारक सूचना फैलाएको अभियोगमा ३६७ ओटा अनलाइन सामग्रीलाई कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरिएको छ ।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार, विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने २९० सामग्री आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणमा ११, प्रेस काउन्सिल नेपालमा ६५ र विज्ञापन नियमन गर्ने ऐन बमोजिम विज्ञापन बोर्डमा एउटा सामग्री कारबाहीका लागि सिफारिस गरिएको छ ।
आयोगले मतदातालाई सुसूचित गर्न र बदर मतको सङ्ख्या घटाउन डिजिटल माध्यमको व्यापक प्रयोग गरिरहेको जनाएको छ । आयोगको मतदाता शिक्षा एकाइले हालसम्म स्वीकृत गरेका ३०० ओटा विभिन्न सामग्री फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्ममार्फत प्रसारण भइरहेका छन् । यी सामग्रीमा संवादमूलक भिडिओ, गीति सन्देश, लघु भिडिओ र जिङ्गलहरू समावेश छन् ।
डिजिटल प्रचारलाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूसँग पनि सहकार्य गरेको छ । उनीहरूले आफ्ना प्लेटफर्मबाट निर्वाचनसम्बन्धी सत्यतथ्य जानकारी सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता श्रीसले जानकारी दिइन् ।
साथै, देशका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक-एक जना स्वयंसेवक खटाएर फागुन ३ देखि १७ गतेसम्म घरदैलो मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यसका लागि आयोगले १० लाख ९८ हजार नमुना मतपत्र छपाइ गरी प्रयोगमा ल्याएको छ ।
निर्वाचन खर्चलाई पारदर्शी बनाउन आयोगले उम्मेदवार र राजनीतिक दलले छुट्टै बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । हालसम्म ८६७ जना उम्मेदवारले छुट्टै बैंक खाता खोलिसकेको प्रतिवेदन आयोगलाई प्राप्त भएको छ । यद्यपि, राजनीतिक दलहरूको हकमा भने हालसम्म सात ओटा दलले मात्र निर्वाचन खाता खोलेका छन् ।
आयोगले बाँकी उम्मेदवार र दलहरूलाई निर्वाचन आचारसंहिता र कार्यविधिको अधीनमा रहेर तुरुन्त खाता खोल्न पुनः अनुरोध गरेको छ । निर्वाचन खर्चको प्रभावकारी अनुगमनका लागि सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई अनुगमन अधिकृतको रूपमा खटाइएको छ ।
आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको कार्य पनि अन्तिम चरणमा पुर्याएको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै, हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा बुझाइसकेका छन् ।
आचारसंहिता उल्लंघन गर्नेहरूमाथि आयोगले कारबाही प्रक्रियालाई तीव्रता दिएको छ । आयोगमा प्राप्त भएका ७५ उजुरीमध्ये ५२ ओटामा स्पष्टीकरण सोधिसकिएको र प्राप्त जवाफबारे आयोगमा छलफल भइरहेको श्रीसले जानकारी दिइन् ।
यसैगरी, निर्वाचन पर्यवेक्षणका लागि ३७ राष्ट्रिय र सात अन्तर्राष्ट्रिय गरी कुल ४४ संस्थालाई अनुमति दिइएको छ । ती संस्थाका चार हजार ३०० जना पर्यवेक्षकलाई आयोगले परिचयपत्र जारी गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ १८:१५
