close

फ्याक्टचेकः बालेनले गोरुको मासुसँगै रक्सी खाए भन्दै खीर खाएको फोटो तोडमोड गरी भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १०, २०८२ १४:५१

फ्याक्टचेकः बालेनले गोरुको मासुसँगै रक्सी खाए भन्दै खीर खाएको फोटो तोडमोड गरी भाइरल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मदिरा सेवन गरिरहेको दाबीसहितको एउटा तस्बिर पछिल्ला केही दिनयता भाइरल छ । उक्त तस्बिरमा विभिन्न ब्रान्डका मदिराका बोतलको साथमा उनले पिइरहेको देखाइएको छ । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त तस्बिर ‘एआई’ सिर्जित भएको पुष्टि भएको छ । वास्तवमा उनी चुनावी अभियानका क्रममा डडेलधुरा पुग्दा खिर खाँदा खिचिएको सक्कली तस्बिरलाई एआईमार्फत एडिट गरेर मदिरा पिइरहेको जस्तो बनाइएको हो ।

दाबी

शनिबार, २१ फेब्रुअरी २०२६ बिहान ८ः५६ बजे ‘कृष्ण प्र. पन्थी’ नामका फेसबुक प्रयोगकर्ताले बालेन शाहको जस्तो देखिने एक फोटो राखे । उक्त फोटोमा बालेनलाई मदिरा पिइरहेको देखाइएको छ । टेबुलमा मासु र रेड लेबल राखेको देखिन्छ । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, “काङ्ग्रेसको झन्डामा मुत्ने!

एमालेको झन्डामा आगो बाल्ने!

बिरेन्द्रको शालिक माथि कुच्ने !

आफ्ना चेलीबेटी नभए झैँ संजालमा जथाभावी छाडा बोल्ने!!

उग्रताले सिमा पार गर्नुको मुख्य कारण खोज्दै जाँदा यस्तो पो भेटियो! घण्टे ग्याङ तेरो अराजकता ले तँहरुलाई नै घाटा भैरहेको कुरा बुझ्नुपर्छ कि अब त......।

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ५७०० बढी रियाक्सन, १४०० बढी कमेन्ट आएका छन् भने झण्डै ५०० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

अनुसन्धान

बालेनले मदिरा पिइरहेको जस्तो देखिने फोटो फेला पार्न टेकपाना फ्याक्टचेक डेस्कले गुगल एड्भान्स सर्चमा ‘काङ्ग्रेसको झन्डामा मुत्ने ! एमालेको झन्डामा आगो बाल्ने !’ जस्ता कीवर्ड खोजेर हेर्‍यो । त्यस क्रममा फेसबुकमा ‘Bishnu Aryal’ नामका प्रयोगकर्ताले शनिबार राति ९ः५९ बजे बालेनले मदिरा पिइरहेको जस्तो देखिने सोही फोटोसहित माथि दाबीमा उल्लेख भएको क्याप्सन राखेको देखियो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Tan Khandaluk Magar’ नामका फेसबुक प्रयोगकर्ताले ७ फेब्रुअरीमा ‘देस र जनताको निम्ति को महान हुन ? छुट्याउन गाह्रो छैन’ भन्ने क्याप्सन राख्दै एकातिर बालेनले मदिरा पिइरहेको फोटो र अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा शेयर गरेको दैलेखको ग्यास ड्रिलिङ सम्बन्धी पोस्टर राखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

मिसन २०८४ नामक फेसबुक ग्रुपमा ‘Sarjan Limbu’ नामको फेसबुक अकाउन्टबाट पनि उक्त फोटो पोस्ट भएको पाइयो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

गुगलको रिभर्स इमेज सर्चमा उक्त फोटो खोज्दा २८ जनवरीमा ‘tasrajrai’ युजरनेमका इन्स्टाग्राम प्रयोगकर्ताले बालेनले मासु खाएको देखिने फोटो राखेको भेटियो । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, “गोरूको मासु घपाघप Mr बेलुन् साह🐮🐮🐮🐮।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ र स्क्रिनशट । 

यीबाहेक अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि बालेनले मदिरा र मासु खाएको दाबीसहितका फोटो राखेको फेला पर्‍यो । भाइरल भएको फोटोलाई हाइभ मोडरेसन नामक एआई फोटो डिटेक्टर टुलमा जाँच गरियो । उक्त टुलले सो फोटो ९९.९ प्रतिशत एआई सिर्जित हुनसक्ने देखायो । 

सो फोटोलाई फरक कोणबाट रिभर्स इमेज सर्चमा हेर्दा २८ जनवरी २०२६ मा ‘नेपाल प्रेस’को फेसबुक पेजमा वास्तविक फोटो फेला पर्‍यो । नेपाल प्रेसले ‘डडेलधुराको फेमस बाजेको खिर पसलमा बालेन शाह’ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

‘बालेन डडेलधुरा खिर’ सर्च गर्दा २८ जनवरीमा हिमाल प्रेसमा ‘डडेलढुरामा खीर खादै बालेन’ शीर्षकको समाचार फेला पर्‍यो । हेर्नुहोस् समाचार । अनलाइन खबरलले २८ जनवरीमै भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ । क्यानडा नेपालले पनि सोही भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ

यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा बालेनलले मदिरा सेवन गरेको, गोरुको मासु खाएको जस्ता दाबी गर्दै फैलाइएका फोटो नक्कली भएको पुष्टि हुन्छ । डडेलधुरामा खीर खाइरहेको वास्तविक फोटोलाई एडिट गरी भ्रम फैलाएको पाइएको हो ।

तथ्यजाँचको अनुसन्धानकै क्रममा बालेन र उनको टिमले रक्सी पिरइहेको देखिने अर्को फोटो पनि भाइरल भएको पाइएको छ । 

जेरोजीपीटीले सो फोटो एआई सिर्जित हुने सम्भावना ९६ प्रतिशत देखाउँदै फेक भएको वर्गीकरण गरेको छ । 

 

रिभर्स इमेज सर्च गरी हेर्दा वास्तविक फोटो नेपाल खबरले अपलोड गरेको पाइयो । आगो तापिरहेको फोटोलाई एडिट गरी मदिरा पिइरहेको जस्तो देखाएर भाइरल बनाइएको फेला परेको हो । हेर्नुहोस् समाचार ।  

हेर्नुहोस् क्लिकमान्डुले पोस्ट गरेको भिडिओ

 

दाबी

सामाजिक सञ्जालमा बालेन्द्र शाह (बालेन) ले टेबुलमा विभिन्न ब्रान्डका मदिरा (रेड लेबललगायत) र मासु (गोरुको मासु) राखेर खाइरहेको/पिइरहेको तस्बिरसहित उनी उच्छृङ्खल र अराजक भएको दाबी गरिएको छ ।

दाबीकर्ता

'कृष्ण प्र. पन्थी', 'Bishnu Aryal', 'Tan Khandaluk Magar', 'Sarjan Limbu' र 'tasrajrai' लगायतका फेसबुक तथा इन्स्टाग्राम पेज र प्रयोगकर्ता ।

तथ्य

भाइरल भएको तस्बिरलाई 'हाइभ मोडरेसन' नामक एआई फोटो डिटेक्टर टुलमा जाँच गर्दा उक्त तस्बिर ९९.९ प्रतिशत 'एआई'द्वारा तयार गरिएको पाइएको छ । गुगल रिभर्स इमेज सर्च र नेपाल प्रेस, हिमाल प्रेस, अनलाइन खबर जस्ता सञ्चारमाध्यमको समाचार/भिडिओ अनुसार उक्त सक्कली तस्बिर २८ जनवरीमा बालेनले डडेलधुराको 'बाजेको खीर पसल'मा खीर खाइरहेको बेलाको हो । डडेलधुरामा खीर खाइरहेको वास्तविक तस्बिरलाई एआईमार्फत एडिट गरेर मदिरा र मासु खाएको जस्तो देखाइएको हो ।

निष्कर्ष

बालेनले मदिरा सेवन गरेको र गोरुको मासु खाएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको तस्बिर र दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८२ १४:५७