चुनाव प्रचारका लागि फेसबुकमा पैसा खर्चिनेमा काङ्ग्रेस अगाडि, अरू पार्टी र उम्मेदवार कहाँ ?
फागुन ११, २०८२ १७:४४
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पछिल्लो ९० दिनमा फेसबुकमा विज्ञापन गर्नेमा नेपाली कांग्रेस र यस दलका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् । ‘मेटा एड लाइब्रेरी’ मा सार्वजनिक भएको २३ नोभेम्बर २०२५ देखि २० फेब्रुअरी २०२६ सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार उम्मेदवार र पार्टीको संस्थागत विज्ञापनलाई जोडेर समग्रमा सबैभन्दा बढी खर्च गर्ने दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले यस अवधिमा कुल १२ लाख २५ हजार एक रुपैयाँ फेसबुक विज्ञापनमा खर्च गरेको छ । ६ लाख ४४२ रुपैयाँ खर्च गर्दै उज्यालो नेपाल पार्टी दोस्रो र पाँच लाख ६० हजार ३४५ रुपैयाँ खर्चेको नेकपा (एमाले) तेस्रो स्थानमा छ ।
यस्तै, गतिशील लोकतान्त्रिक पार्टीले तीन लाख ३० हजार ३६६ रुपैयाँ, राष्ट्रिय परिवर्तन पार्टीले दुई लाख ४५ हजार ९६० रुपैयाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक लाख ८८ हजार १३८ रुपैयाँ खर्च गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २१ हजार ७४५ रुपैयाँ, जनादेश पार्टी नेपालले ८६ हजार ८७७ रुपैयाँ, राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ हजार ५९१ रुपैयाँ र राष्ट्र निर्माण दलले ४९ हजार ९७६ रुपैयाँ विज्ञापनमा खर्च गरेको तथ्याङ्कले देखाएको छ ।
स्वतन्त्र उम्मेदवारको समग्र खर्च ४९ हजार २५० रुपैयाँ रहेको छ भने जनता समाजवादी पार्टीले ३४ हजार २८६ रुपैयाँ, राष्ट्रिय मुक्ति पार्टी नेपालले ३१ हजार २३५ रुपैयाँ र प्रगतिशील लोकतान्त्रिक पार्टीले १८ हजार ३०५ रुपैयाँ खर्च गरेका छन् ।
उम्मेदवार र खर्च
फेसबुकमा १०१ डलरभन्दा माथिको रकम खर्चर गरिएको विज्ञापन विश्लेषण गर्दा विभिन्न क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारले व्यक्तिगत नामबाट पनि उल्लेख्य रकम खर्च गरेको पाइएको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले मात्रै कुल १२ लाख २५ हजार एक रुपैयाँ खर्च गरेका छन् । जसमा डा. शेखर कोइरालाले सबैभन्दा बढी तीन लाख ९३ हजार २७३ रुपैयाँ खर्च गरेका छन् । उनको नामबाट प्रत्यक्ष रूपमा विज्ञापन नभए पनि स्ट्र होल्डिङ्स प्रालिले उनको तर्फबाट विभिन्न पेजमा सो रकम बराबर खर्च गरेको भेटिएको छ ।
त्यस्तै, नयनसिंह महरले दुई लाख ४८ हजार १३८, भरतराज ढकालले एक लाख ७५ हजार ६२, सुनिल कुमार शर्माले ८० हजार ९२१, माधव प्रसाद बास्तोलाले ३८ हजार ९३५, कबिर राणाले ३३ हजार १२४, विष्णुबहादुर खड्काले ३२ हजार १०७, विनोद चौधरीले ३० हजार ६५४, दीपक गिरीले २९ हजार ९२८, निश्चल राईले २८ हजार ७६५, प्रबल थापाले २३ हजार ५३५, कृष्ण सबुज बानियाले २३ हजार ३९०, शंकर कार्कीले २२ हजार ३७३, किरण यादवले १७ हजार ८६९, भुपेन्द्र राईले १७ हजार ५७९ र प्रकाश सिंह कार्की तथा किरण किशोर घिमिरे दुवैले समान १४ हजार ६७३ रुपैयाँ खर्च गरेका छन् ।
नेकपा एमालेका उम्मेदवारहरूले कुल पाँच लाख ४० हजार ६ रुपैयाँ खर्च गरेका छन् । यस पार्टीबाट डा. अजय क्रान्ति शाक्यले दुई लाख १७ हजार १९४, दिलिप बगडियाले एक लाख २३ हजार ९२४, राजन भट्टराईले ८१ हजार ९३८, क्षितिज थेबेले ८० हजार ७७६ र हरिकृष्ण श्रेष्ठले ३६ हजार १७५ रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूको कुल खर्च दुई लाख ७० हजार ९४७ रुपैयाँ रहेको छ । जसमा श्री गुरुङले एक लाख ९ हजार ९७७, कुशल गरुङले एक लाख दुई हजार ७१३, मञ्जिल राणाले २० हजार ६३०, सुरज पाण्डेले १९ हजार ३२२ र वसन्त बुढाथोकीले १८ हजार ३०५ रुपैयाँ खर्च गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले कुल एक लाख ८८ हजार १३८ रुपैयाँ खर्च गरेका छन् । यस पार्टीका युवराज दुलालले ५९ हजार ७१०, नारायण काजी श्रेष्ठले ३७ हजार १९२, सुञ्जय कुमार महतोले २९ हजार ७८२, पुनम यादवले २१ हजार ५०१, मणिराम फुँयालले २० हजार ३३९ र भरत थापाले १९ हजार ६१३ रुपैयाँ खर्च गरेका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको कुल खर्च १ लाख २१ हजार ७४५ रुपैयाँ रहेको छ । यसमा बिनय बिसीले ५८ हजार २५७, दामोदर भण्डारीले २९ हजार ७८२, ज्वाला नेपालले १८ हजार १६० र रन्जीब श्रेष्ठले १५ हजार ५४५ रुपैयाँ खर्चिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको कुल खर्च ५२ हजार ५९१ रुपैयाँ रहेको छ । जसमा नितिमा भण्डारीले १९ हजार ६१३, डीपी अर्यालले १७ हजार ४३४ र विवेक कुमार श्रेष्ठले १५ हजार ५४५ रुपैयाँ खर्च गरेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले २८ हजार ६२० र रुपेश साहले २० हजार ६३० गरी कुल ४९ हजार २५० रुपैयाँ खर्च गरेका छन् । अन्य दलका एकल उम्मेदवारमा जनादेश पार्टी नेपालका रमणकुमार कर्णले कुल ८६ हजार ८७७, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारीले ८२ हजार २२८, राष्ट्रिय परिवर्तन पार्टीका टेक बहादुर सुब्बाले ५८ हजार ५४८, जनता समाजवादी पार्टीका डा. कृष्ण चन्द्रप्रसाद साहले ३४ हजार २८६, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले ३१ हजार २३५ र प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्ण महर्जनले १८ हजार ३०५ रुपैयाँ विज्ञापनमा खर्च गरेका छन् ।
पार्टीको नामबाट मात्र खर्च
उम्मेदवारको नाम नजोडी समग्र पार्टीको नामबाट मात्र गरिएका विज्ञापनमा पनि दलहरूले छुट्टै रकम खर्च गरेका छन् । यसरी पार्टीको नामबाट मात्र गरिएको विज्ञापनमा उज्यालो नेपाल पार्टीले कूल तीन लाख २९ हजार ४९५ रुपैयाँ खर्च गरेको छ । त्यस्तै गतिशील लोकतान्त्रिक पार्टीले दुई लाख ४८ हजार १३८ रुपैयाँ खर्च गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले पनि आफ्नो दलको नामबाट छुट्टाछुट्टै रूपमा एक लाख ८७ हजार ४११ रुपैयाँ विज्ञापनमा खर्चिएको छ । यसबाहेक राष्ट्र निर्माण दलले पार्टीको नामबाट मात्र ४९ हजार ९७६ रुपैयाँ र नेकपा एमालेले २० हजार ३३९ रुपैयाँ फेसबुक विज्ञापनका लागि खर्च गरेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ १९:२
