close

तुलसा कलेक्सनकी सञ्चालकको मुद्दाबारे सामाजिक सञ्जालमा भ्रम नफैलाउन प्रहरीको अनुरोध

टेकपाना टेकपाना

फागुन ११, २०८२ १८:५३

तुलसा कलेक्सनकी सञ्चालकको मुद्दाबारे सामाजिक सञ्जालमा भ्रम नफैलाउन प्रहरीको अनुरोध

काठमाडौँ । तुलसा कलेक्सनकी सञ्चालिका तुलसी अधिकारीमाथि भइरहेको अनुसन्धानका विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन प्रहरीले अपिल गरेको छ । एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धानरत विषयलाई प्रभावित पार्ने गरी तथ्यहीन सामग्री सम्प्रेषण भइरहेको भन्दै प्रहरीले यसतर्फ ध्यानाकर्षण भएको जनाएको हो ।

आरोपी अधिकारीमाथि हाल ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) कसुरमा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा अधिकारीविरुद्ध ठगी र आपराधिक लाभको कसुरमा गत २२ साउनमा मुद्दा दर्ता भई अनुसन्धान अघि बढेको थियो । सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त सुझाव र जाहेरीका आधारमा उनीमाथि मनि लाउन्डरिङको पाटोबाट पनि छानबिन सुरु गरिएको प्रहरीको भनाइ छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भएकी अधिकारीले सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको रूपान्तरण र हस्तान्तरण गरेको विषयमा प्रमाण सङ्कलन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

कानुन बमोजिम भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरू प्रहरीको निगरानीमा रहेको विज्ञप्तिमा उल्लेख छ । “अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडिओ तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य पुनः अनुसन्धानको विषय बन्नेतर्फ सजग रहँदै सामाजिक सञ्जालको प्रयोग गर्न र सार्वजनिक जवाफदेहिता वहन गर्ने मानवीय कर्तव्यको पालना गर्न सबैमा हार्दिक अनुरोध गर्दै यस्ता कार्य नगर्न समेत हार्दिक अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ । 

प्रहरीले अनुसन्धानका दायरामा रहेका व्यक्तिहरू र सर्वसाधारणलाई सामाजिक सञ्जालमा भ्रम फैलाउनुको सट्टा कानुन बमोजिम व्यवस्था भएका निकायमा उपस्थित भई आफ्ना भनाइ राख्न समेत आग्रह गरेको छ । तथ्यपरक आधार र प्रमाणहरू सङ्कलन गर्ने कार्य जारी रहेकाले अनुसन्धानमा सहयोग गर्न प्रहरीले सबैमा अपिल गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८२ १९:३०