close

फ्याक्टचेक: धनगढी उद्घोष सभाको भिडिओ राखेर केपी खनाल आफ्नै कार्यकर्ताबाट कुटिएको भन्दै भ्रामक प्रचार

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन १२, २०८२ ११:२१

फ्याक्टचेक: धनगढी उद्घोष सभाको भिडिओ राखेर केपी खनाल आफ्नै कार्यकर्ताबाट कुटिएको भन्दै भ्रामक प्रचार

काठमाडौँ । कैलाली क्षेत्र नम्बर २ बाट आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनालले चुनावी प्रचारप्रसारका क्रममा झडप गरेको दाबी सहितको एक भिडिओ भाइरल छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कैलाली २ मा चुनाव प्रचारप्रसारको क्रममा खनालले झडप गरेको, कार्यकर्ताबाट रास्वपा उम्मेदवार कुटिएको दाबी सहित उक्त भिडिओ शेयर गरिरहेका हुन् । 

तर टेकपानाको तथ्यजाँचबाट कैलाली-२ मा प्रचारप्रसारको क्रममा केपी खनालले झडप गरेको र कार्यकर्ताबाट कुटिएको दुबै दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा १८ फेब्रुअरी (६ फागुनमा) धनगढीमा रास्वपाले ‘परिवर्तन उद्घोष सभा’को आयोजना गरेको थियो । उक्त सभा सुरु हुनुभन्दा पहिले मञ्चतर्फ उम्मेदवारहरू गइरहेको क्रममा मञ्चको गेटमा भिडभाड भएको थियो । 

भीडमा आफ्नो टिममा रहेका सदस्यहरू फसिरहेको समयमा खनाल फर्किँदा धकेलाधकेलमा परेका थिए । त्यही समयको भिडिओलाई भ्रामक तरिकाले कैलाली-२ मा प्रचारप्रसारका क्रममा केपी खनालले झडप गरेको लगायतका दाबी सहित भ्रम फैलाइएको पुष्टि भएको हो । 

 

दाबी

२२ फेब्रुअरीमा राति ८:०५ मा ‘STS Television’ नामको फेसबुक पेजले ४० सेकेन्ड लामो एक भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा केपी खनालले झडप गरेको दाबी गरिएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ,  “कैलाली २ : झडप गर्दै रास्वपा उम्मेदवार केपी खनाल” 

‍हेर्नुहोस् भिडि‌ओ, स्क्रिनरेकर्ड र स्क्रिनशट ।

 

 

 

 

अनुसन्धान 

त्यस्तै फेसबुक पेज ‘The New Media’ ले पनि २२ फेब्रुअरी राति ८:४५ मा चुनाव प्रचार प्रसारका क्रममा केपी खनालले झडप गरेको दाबीसहित सोही भिडिओ राखेको भेटियो । 

भिडिओको क्याप्सनमा लेखिएको छ, “रास्वपाका उम्मेदवार केपी खनालको लफडा । कैलाली–२ मा चुनावी प्रचारका क्रममा झडप भएको खबर बाहिरिएको छ । झडपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल संलग्न रहेको आरोप लागेको छ । चुनाव लोकतान्त्रिक अभ्यास हो, जहाँ विचारको प्रतिस्पर्धा हुनुपर्छ, झडप होइन । घटनाको सत्य तथ्य छानबिन होस् र दोषीमाथि कारबाही होस् ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।  

 

 

२३ फेब्रुअरी दिउँसो १:२८ मा फेसबुक प्रयोगकर्ता ‘Rajib Bhattari’ ले केपी खनाललाई आफ्नै कार्यकर्ताले कुटपिट गरेको दाबी सहित फेसबुकमा पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले लेखेका छन्, “Breaking news:घन्टी पार्टीका वरिष्ठ नेता केपी खनाललाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन्। कार्यक्रमको मञ्चमा जाने क्रममा आफ्नै कार्यकर्ताले लडाएर चोटपटक लाग्ने गरेर।लात्तले हानेको प्रस्ट देखिन्छ। र सामाजिक सञ्जालमा अहिले भिडियो जताततै भाइरल भइरहेको छ” । उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म दुई हजार बढी रियाक्सन आएको छ ।  हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 


 

 

सामाजिक सञ्जाल एक्समा ‘@Kiranjoshi900’ युजरनेम रहेको प्रयोगकर्ता किरण जोशीले पनि  केपी खनाल लखेटिन थालेको दाबी सहित पोस्ट गरेका छन् । उनले लेखेका छन्, “केपि खनाल झडपमा 😃😃😃 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल लखेटिन थाले” उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म १५ हजारभन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

२३ फेब्रुअरी साँझ ५:४९ मा सोही भिडिओ पोस्ट गर्दै जनआस्थाको फेसबुक पेजमा रास्वपा उम्मेदवार आफ्नै कार्यकर्ताको आक्रमणमा परेको दाबी सहित भिडिओ सार्वजनिक गरिएको छ । उक्त भिडिओको क्याप्सनमा जनआस्थाले  लेखेको छ, "आफ्नै कार्यकर्ताको आक्रमणमा परे रास्वपा उम्मेदवार" । हेर्नुहोस ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

 

 

 

फेसबुक पेज ‘Sudur Live’ ले पनि २२ फेब्रुअरी राति ८:०२ मा सोही भिडिओ राखेको फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “कैलाली २ का रास्वपा उमेदवार केपी खनाल आफै झडप गर्दै, उमेदवार नै यसरी भिड्न उत्रिएपछि अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

केपी खनाल लखेटिएको दाबी सहित ‘मनोज शाही ठकुरी’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ सार्वजनिक गरेका छन् । २३ जनवरी बिहान ६:२५ मा सार्वजनिक उक्त भिडिओको स्टाटसमा उनले लेखेका छन्,  “कैलाली क्षेत्र नं २ का घन्टी उमेदवार केपी खनाल लखेटिएका छन्!” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

‘दीपक पाण्डे’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ राखेको फेला पर्‍यो । २२ फेब्रुअरी राति ८:२५ मा सार्वजनिक पोस्टमा उनले केपी खनालले चुनाव प्रचारप्रसारका क्रममा झगडा गरेको दाबी गरेका छन् । 

 

भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “ए Kp Khanal/केपि खनाल  भाइ, चुनावी प्रचारमा जाँदा अलि होस पुर्‍याएर जानुपर्‍छ नि है!दारु खाएर गया हुन क्या😗 जनता अगाडि झगडा गरेर होइन, सान्त र शालीन भएर बोल्या मन जितिन्छ। आजै प्रचारमा तेसै गरिस भने भोलि संसदमा गएर के गर्ला भनेर मान्छेले सोच्ने हुन् नि। राजनीति भनेको रिसले हैन, दिमाग चलाएर गर्ने काम हो है! हुन त कुन बज्या उठायाँ उम्मेदवार बनायां हुन के थाहा राजनीती🤗” । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

२२ फेब्रुअरीमा राति ९:०२ मा ‘Saru Sharma’ नामको फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ शेयर गरेकी छिन् । उनले सार्वजनिक गरेको स्टाटसमा लेखिएको छ, “कैलाली-२ का रास्वपा घण्टीका अराजक उम्मेदवार केपी खनाल मतदातासँग झगडा गर्दै छ। यस्ता मूर्ख लाई संसद बनाउनु हुदैन।भिडिओ र स्क्रिनशट । 

 

 

फेसबुक प्रयोगकर्ता ‘Ujjwal Neupane’ ले २२ जनवरी राति ८:१० मा सोही भिडिओ सार्वजनिक गरेका छन् । पोस्टमा उनले लेखेका छन्, “हैट, कैलाली-२ का रास्वपा घण्टीका उम्मेदवार केपी खनाल मतदाता सँग झै झगडा (तानातान) गर्दै छन त किन हो कुन्नि? मत बढि भएर हो कि। रिस पनि कति उग्र हो बालेनको निजि उमेदवार सानू भाईको। आफुआफु नै जुधेर सकिएलान जस्तो पो छन त मित्रहरू!” हेर्नुहोस्  भिडिओ र स्क्रिनशट ।  

 

सामाजिक सञ्जालमा केपी खनालको उक्त भाइरल भिडिओ खोज्दै जाने क्रममा ‘जय घण्टी 🔔🔔’ मा क्याप्सनसहित ‘Joshi Chetan’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोहो भिडिओ सार्वजनिक गरेको फेला पर्‍यो । २२ फेब्रुअरी बिहान ७:४७ मा सार्वजनिक उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्ममा १२ लाख बढि भ्युज छ । ४० हजार बढि रियाक्सन उक्त भिडिओमा आइसकेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

हामीले सामाजिक सञ्जालमा उक्त भिडिओ निकै भाइरल भएपछि उक्त भिडिओ कहिलेको हो भनेर पत्ता लगाउने कोसिस गर्‍यौँ । त्यसका लागि हामीले केपी खनालको सामाजिक सञ्जालमा राखिएका चुनाव प्रचारप्रसारका भिडिओ केलायौँ । 

२० फेब्रुअरीमा केपी खनालले आफ्नो फेसबुक पेजमा शेयर गरेको भिडिओ फेला पर्‍यो । उक्त भिडिओको क्याप्सनमा खनालले लेखेका छन्, “अब सुदुर दुर नाई ❤️🔔 परिवर्तन को उद्घोष सुन्दर सुदुरपश्चिमबाट !” उक्त भिडिओ र केपी खनालको भाइरल भिडिओको गेटअपलाई तुलना गरेर हेर्‍यौँ । 


 

दुबै भिडिओबाट लिइएको स्क्रिनशटमा खनालले उस्तै ढाका टोपी लगाएका छन् । दुबै फोटोमा भुइँमा बिछ्याइएको कार्पेट उस्तै छ । दुबैमा उनी निधारमा रातो अबिरको टीका, सेतो कमिज र कालो कोटको गेटअपमा देखिएका छन् । त्यसैले यी दुई तस्बिर एकै दिनको भएको हुनसक्ने देखियो । 

खनालले पोस्ट गरेको भिडिओको क्याप्सनमा ‘परिवर्तनको उद्घोष’ लेखिएको छ । त्यसपछि हामीले केपी खनालको भिडिओको पछाडि ब्यानरमा देखिएको तथा उनले फेसबुकमा पोस्ट गर्दा उल्लेख गरेको ‘परिवर्तन उद्घोष’ ले केही दिन पहिले रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको सभा हुनसक्ने अनुमान गर्‍यौँ र उद्घोष सभाका लाइभ भिडि‌ओ खोज्यौँ । 

गुगलमा ‘रास्वपा सभा सुदुरपश्चिम’, ‘रास्वपा live’ ‘रास्वपा सभा live’ लगायतका किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्दे क्रममा ‘Kantipur TV HD’ को युट्युब च्यानलबाट १८ फेब्रुअरीमा प्रसारण भएको लाइभ भिडिओ फेला पर्‍यो । ‘रास्वपाको चुनावी सभा धनगढी’ क्याप्सनसहित सार्वजनिक उक्त लाइभ भिडिओको ३० मिनेट ५० सेकेन्डमा कार्यक्रम सञ्चालक बोलिरहेको सुनिन्छ । उनले रास्वपाका समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेदवार सचिवालय सदस्य सहित स्टेजतर्फ आउन लागेको जानकारी गराएका छन् । स्टेजका दाहिने तर्फ उम्मेदवारलाई व्यवस्थित तरिकाले बस्ने व्यवस्था मिलाइएको र सचिवालय सदस्य भने छुट्टै बस्न सक्ने उनले बताएका छन् । 

त्यसपछि क्रमश: रास्वपाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सभाको गेटबाट कार्यक्रम भएको स्थानतर्फ प्रवेश गर्छन् । उनीहरू क्रमश: कार्यकर्ता, शुभचिन्तक तथा समर्थकबाट टीका माला ग्रहण गर्दै अगाडि बढेका छन् । सोही क्रममा भिडिओको ३४ औँ मिनेटमा कार्यक्रमस्थलको गेटतर्फ केही भिडभाड बढेको देखिन्छ । उक्त समयमा भिडभाड भएको ठाउँमा केपी खनाल पनि देखिएका छन् । कान्तिपुरको लाइभ भिडिओको ३४:२६ मिनेटमा यो दृश्य देख्न सकिन्छ ।  

त्यसपछि हामीले उक्त लाइभ भिडिओको स्क्रिनशट लिएर त्यसलाई केपी खनालले चुनाव प्रचारप्रसारका क्रममा झडप गरेको दाबी सहितको भाइरल भिडिओको क्लिपको स्क्रिनशटसँग तुलना गर्‍यौँ । यसरी तुलनात्मक विश्लेषण गर्दा यी दुई भिडिओको स्क्रिनशटमा देखिएको दृश्यमा समानता भेटियो । अर्थात् हाल भाइरल भएको भिडिओ धनगढीमा भएको रास्वपाको उद्घोष सभाको रहेको देखियो ।


 

लाइभ भिडिओमा भिडभाड भएको देखिएको केही मिनेटमा नै अवस्था सामान्य देखिएको छ । त्यसपछि भिडिओको ३७:०२  मिनेटमा केपी खनालले पनि अरू उम्मेदवारले जस्तै टीका, माला थापिरहेको भिडिओमा देखिएको छ । 

हामीले भाइरल भिडिओ वरिपरिको ४० सेकेन्डको खण्डलाई विश्लेषण गरेर पनि हेर्‍यौँ । हेर्ने क्रममा उक्त समयमा केपी खनालले झगडा नगरी भीडबाट आफू र आफ्नो टिमलाई स्टेज भएको स्थानतर्फ लैजाँदै गरेको देखिएको छ । पढ्नुहोस् टेकपानाको विश्लेषण । 

भिडिओमा केपी खनाललाई भीडबाट बाहिर तर्फ केही युवाहरूले तानी रहेका छन् । तर खनाल भने भीड तर्फ नै जान खोजीरहेका छन् । 

यत्तिकैमा भीडमा भएका कालो चस्मा लगाएका युवकले केपी खनालभन्दा अगाडि भएका युवकलाई आफ्नो हातमा भएको मोबाइल दिएका छन् । उक्त मोबाइल ती युवकले केपी खनाललाई ल्याएर दिएका छन् । 

केही समय पछि भीडलाई छिचोल्दै चस्मा लगाएका (मोबाइल दिने) युवक पनि केपी खनालको नजिक आइपुगेका छन् । उनी नजिकै आइपुग्दा  भीड हुत्तिएर खनालको टोपी झर्न खोजेको छ । त्यसलाई केपी खनालले मिलाएका छन् । त्यसपछि आर्मी कलरको लुगा लगाएका पुरुष र केपी खनाल भुईँतर्फ निहुरिएका छन् । 

यत्तिकैमा दायाँ तर्फ चस्मा र रातो टीशर्ट लगाएकी महिला भीडबाट खनाल भएको ठाउँतर्फ जान खोजीरहेको जस्तो देखिएको छ । 

यता आर्मी कलरको लुगा लगाएका र सेतो टीशर्ट र चस्मा लगाएका युवकले केपी खनाललाई भीडभन्दा पर लान खोजीरहेको जस्तो देखिएको छ । तर केपी खनाल भने भीडतर्फ नै जान खोजिरहेका छन् । यत्तिकैमा चस्मा लगाएका युवकले चोर औँला देखाउँदै भीडतर्फ इसारा गरेका छन् । पृष्ठभूमिमा भीडबाट महिलाको आवाज आएको छ, “म उम्मेदवारको टिम हो ।” तत्कालै केपी खनाल र आर्मी कलरको टीशर्ट लगाएका युवक भीड भएतर्फ गएका छन् । 

केपी खनालले सुरक्षाकर्मीहरूलाई भनेका छन् “एक जना टिम हो के” । पछाडिबाट अर्का पुरुषको समेत आवाज आएको छ, “व्यवस्थापन टिम हो के” त्यसपछि रातो टीशर्ट लगाएकी महिलाले केपी खनाललाई ‘दादा यार’ भनेको सुनिएको छ ।  

हेर्नुहोस्, टेकपानाले ४० सेकेन्ड लामो भाइरल भिडिओको बारेमा एक्स्प्लेन गरेको भिडिओ 

 

दाबी

  • कैलाली-२ मा प्रचारप्रसारका क्रममा रास्वपा उम्मेदवार केपी खनालले मतदातासँग झगडा गरे । 

  • केपी खनाल लखेटिए । 

  • केपी खनाललाई आफ्नै कार्यकर्ताले कुटपिट गरे । 

 

दाबीकर्ता 

फेसबुक पेजहरू ‘STS Television’, ‘The New Media’, ‘Sudur Live’, अनलाइन पोर्टल ‘जनआस्था’, फेसबुक प्रयोगकर्ता ‘Rajib Bhattar’, ‘मनोज शाही ठकुरी’, एक्स प्रयोगकर्ता ‘Kiran Joshi’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

 

तथ्य

भाइरल भिडिओ कैलाली-२ को चुनाव प्रचारप्रसारको नभई १८ फेब्रुअरी (६ फागुन) मा धनगढीमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’को हो । उद्घोष सभा सुरु हुनुभन्दा पहिले उम्मेदवारहरू मञ्चतर्फ जाने क्रममा गेटमा अत्यधिक भिडभाड भएको थियो । सोही भिडमा खनालको व्यवस्थापन टिमका सदस्यहरू फसेपछि उनीहरूलाई बाहिर निकाल्ने क्रममा भिडको धकेलाधकेलमा परेका मात्र हुन् । भिडिओमा खनालले सुरक्षाकर्मीलाई "एक जना टिम हो के" भनेर आफ्नो सदस्यलाई जोगाउन खोजेको प्रस्ट सुन्न र देख्न सकिन्छ । यो समयमा कुटपिट भएको छैन भने कार्यक्रम स्थलको माहोल पनि बिग्रिएको छैन । 

 

निष्कर्ष 

चुनाव प्रचारका क्रममा केपी खनालले झडप गरेको, लखेटिएको वा कार्यकर्ताबाट कुटिएको भन्ने दाबी भ्रामक हो । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ ११:५४