close

फ्याक्टचेकः गगन थापाले ‘जनजातिको अपमान’ गरेको गलत अर्थ लाग्ने गरी भाइरल बनाइएको भिडिओ क्लिप भ्रामक

टेकपाना टेकपाना

फागुन १२, २०८२ १८:१७

फ्याक्टचेकः गगन थापाले ‘जनजातिको अपमान’ गरेको गलत अर्थ लाग्ने गरी भाइरल बनाइएको भिडिओ क्लिप भ्रामक

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई अपमान हुने अभिव्यक्ति दिएको दाबीसहितको एक भिडिओले चर्चा पाइरहेको छ । भिडिओमा थापाले ‘नेपालमा क्षेत्री-ब्राह्मण नभएको भए पार्टी पनि नचल्ने र देश पनि नबन्ने अनि हरेक आन्दोलनको नेतृत्व क्षेत्री-ब्राह्मणले नै गरेका हुन्’ भनेको देखाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त भिडिओ भ्रामक भएको पुष्टि भएको छ । वास्तवमा थापाले पाँच वर्षअघि रोल्पाको एक कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै उक्त वाक्य बोलेका थिए । तर, अहिले उनले आफ्नै धारणा राखेको भन्दै भ्रम फैलाइएको हो ।

दाबी

मङ्गलबार २४ फेब्रुअरी २०२६ बिहान ४ः४५ बजे ‘Dev Khadka’ नामका प्रयोगकर्ताले ३७ सेकेन्डको भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सनमा लेखिएको छ, “बाख्रा ले कस्तो कुरा गर्थियो पहिला यता सुनम #fypシ゚viralシ #reals ।” तल भिडिओभित्र टेक्स्ट ओभरलेमा लेखिएको छ, “अब के भन्नू यस्ता छेपारो लाई समाज भाडुवा ।” त्यसभन्दा तल ‘गगन थापाको भनाइ’ लेखिएको छ ।

भिडिओमा गगन थापाले भनेका छन्, “यो जनजातिहरूले नेपालमा आफूले आफूलाई के भन्ठानेका छन्? जनजातिहरूले सबै अधिकार मागेर यो चाहियो त्यो चाहियो भनेर यिनीहरूले गर्न के खोजेको? नेपालमा क्षेत्री ब्राह्मण नभएको भए नेपालमा कुनै पार्टी चल्थ्यो? तपाईंको पार्टी हेर्नुस् कसले चलाएको छ? मेरो पार्टी हेर्नुस् कसले चलाएको छ? एमाले हेर्नुस्, राप्रपा हेर्नुस्, कुन चाहिँ पार्टी क्षेत्री ब्राह्मण बाहेक अरुले चलाएको छ? नेपालमा जनयुद्धको नेतृत्व कसले गर्यो? क्षेत्री ब्राह्मणले। प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कसले गर्यो? क्षेत्री ब्राह्मणले। रुसमा जसरी मुख्य जातीले रुसको आन्दोलन सफल बनायो, नेपालमा पनि क्षेत्री ब्राह्मणले सफल बनाएको हो। त्यसैले क्षेत्री ब्राह्मणलाई अन्य समूहमा राख्ने अधिकार नदिने, जनजातिहरुको यस्ता वाहियात कुराले हुन्छ?” यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १८०० बढी रियाक्सन, ३९७ कमेन्ट, ११०० बढी शेयर र ६८ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

अनुसन्धान

गगन थापाले जनजातिलाई अपमान हुने किसिमको अभिव्यक्ति दिएको दाबीसहितका अन्य भिडिओ फेला पार्न टेकपाना फ्याक्टचेक डेस्कले गुगल रिभर्स इमेज सर्च गर्‍यो । त्यस क्रममा एक्समा सुजन (@Sujnpandey) नामका प्रयोगकर्ताले सोही भिडिओ राख्दै लेखेका छन्, “हैट ! यस्ता जातिवादी मान्छे, जनजाती र दलितलाई अपमान गर्ने थिचोमिचो गर्ने हेपाहा मानसिकता भएको मान्छेले कसरी प्रधानमन्त्री बन्न  सुहाउॅंछ  !?  🤮।” हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

तामाङ समर्थक नामको फेसबुक पेजले पनि सोही भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

त्यस्तै टिकटकमा ‘@globalmedia0098’ नामको अकाउन्टबाट उक्त भिडिओ राखिएको छ । सो भिडिओमा साढे तीन लाख बढी भ्युज, १४ हजार बढी लाइक, १८०० बढी कमेन्ट आएका छन् भने २२८१ बढी पटक शेयर भएको छ । हेर्नुहोस् भिडिओ र ओरिजिनल भिडिओ र स्क्रिनशट ।

त्यस्तै युट्युबमा भूमि राई नामका प्रयोगकर्ताले पनि उक्त भिडिओ शेयर गरेका छन् । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भिडिओले व्यापक चर्चा पाइरहेको देखिएपछि हामीले किफ्रेम निकालेर गुगल एड्भान्स सर्चमा हेर्‍यौं । त्यस क्रममा ३ सेप्टेम्बर २०२० मा ‘Magar LaaphaTv’ नामक फेसबुक पेजमा ७ मिनेट १८ सेकेन्डको भिडिओ अपलोड भएको पाइयो । हेर्नुहोस् भिडिओ

त्यस्तै २३ मे २०१९ मा ‘Sher Bahadur Thapa’ नामका युट्युब प्रयोगकर्ताले २७ मिनेट ५७ सेकेन्डको भिडिओ राखेको पाइयो ।  हेर्नुहोस् भिडिओ

दुई फरक प्रयोगकर्ताले फरक फरक समयमा अपलोड गरेको फरक फरक समयको भिडिओ फेला परेपछि त्यसमा बोलिएको विषय विश्लेषण गर्न थाल्यौं । 

२७ मिनेटको भिडिओको २ः१३ मा गगन थापाले भनेका छन्, “...हामी नेपालको संविधान सभालाई सफल बनाउने कुरामा कांग्रेसका साथीहरु, माओवादी, एमाले सबैसँग छलफल गरौं भनेर उहाँहरुको घरघर गएका थियौं । प्रचण्ड जीको घर गइसके पछाडि उहाँले आफ्नो कोठामा बोलाउनुभयो । बोलाएपछि उहाँले हामीलाई कालो चिया मगाउनुभयो, चिया खुवाउन थाल्नुभयो । चिया खुवाइसके पछाडि हामीले गफ सुरु गर्न मात्र पाएका थिएनौं, उहाँले टाउको सर्र सबैतिर घुमाउनुभयो । टाउको सर्र सबैतिर घुमाएपछि उहाँले के भन्न थाल्नुभयो भने, ‘यो जनजातिहरूले नेपालमा आफूले आफूलाई के भन्ठानेका छन्  ? जनजातिहरूले सबै अधिकार मागेर यो चाहियो त्यो चाहियो भनेर यिनीहरूले गर्न के खोजेको  ? नेपालमा क्षेत्री ब्राह्मण नभएको भए नेपालमा कुनै पार्टी चल्थ्यो  ? तपाईंको पार्टी हेर्नुस् कसले चलाएको छ  ? मेरो पार्टी हेर्नुस् कसले चलाएको छ ? एमाले हेर्नुस्, राप्रपा हेर्नुस्, कुन चाहिँ पार्टी क्षेत्री ब्राह्मण बाहेक अरूले चलाएको छ ? नेपालमा जनयुद्धको नेतृत्व कसले गर्यो? क्षेत्री ब्राह्मणले । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कसले गर्यो ? क्षेत्री ब्राह्मणले । रुसमा जसरी मुख्य जातिले रुसको आन्दोलन सफल बनायो, नेपालमा पनि क्षेत्री ब्राह्मणले सफल बनाएको हो। त्यसैले क्षेत्री ब्राह्मणलाई अन्य समूहमा राख्ने अधिकार नदिने, जनजातिहरूको यस्ता वाहियात कुराले हुन्छ ?" प्रचण्ड भन्न थाल्नुभयो ।…

अनि मैले पनि टाउको सर्र त्यो कोठामा घुमाएर हेरेँ। यसो हेरेको त्यो कोठामा को को रहेछ भने, दाहाल, भट्टराई, भण्डारी, केसी, हामी यति मात्र बाँकी रहेछौं।…”

यसबाट के स्पष्ट हुन्छ भने गगन थापाले प्रचण्डको भनाइलाई उद्धृत गर्दै उक्त कुरा बोलेका थिए । उनले कसैको अपमान हुने गरी आफ्नो व्यक्तिगत धारणा राखेका थिएनन् । तर, अहिले छ वर्षपछि उक्त भिडिओबाट २७ सेकेन्डको अंश मात्र काटेर गगन थापाले नै अपमान गरेको भान पर्ने गरी भ्रामक भिडिओ भाइरल बनाइएको पुष्टि हुन्छ ।

दाबी

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई अपमान गर्दै ‘नेपालमा क्षेत्री-ब्राह्मण नभएको भए पार्टी पनि नचल्ने र देश पनि नबन्ने अनि हरेक आन्दोलनको नेतृत्व क्षेत्री-ब्राह्मणले नै गरेका हुन्’ भन्ने अभिव्यक्ति दिएका हुन् ।

दाबीकर्ता

‘Dev Khadka’, ‘तामाङ समर्थक’, ‘भूमि राई’ नामका फेसबुक पेज तथा प्रयोगकर्ता, ‘@globalmedia0098’ नामका टिकटक, प्रयोगकर्ता, (@Sujnpandey) नामका एक्स प्रयोगकर्ता र Bhupin Rai नामका युट्युब प्रयोगकर्ता लगायत अन्य ।

तथ्य

टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धान अनुसार भाइरल भएको भिडिओ कम्तीमा ६ वर्ष पुरानो (सन् २०१९ तिरको) हो । युट्युबमा रहेको २७ मिनेट ५७ सेकेन्डको मूल भिडिओ हेर्दा गगन थापाले उक्त कुरा आफ्नो धारणाका रूपमा राखेका होइनन् । संविधान निर्माणको समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनकै निवासमा भएको भेटघाटको स्मरण गर्दै थापाले ‘प्रचण्डले भनेको कुरा’ लाई जस्ताको तस्तै उद्धृत गरेर सुनाएका थिए । सामाजिक सञ्जालमा उक्त मूल भिडिओको अगाडि र पछाडिको सन्दर्भ काटेर २७ देखि ३७ सेकेन्डको अंश मात्र राखेर गगन थापाकै भनाइ जस्तो बनाइएको हो ।

निष्कर्ष 

गगन थापाले जनजातिलाई अपमान हुने गरी आफ्नै व्यक्तिगत धारणा राखेको भनी गरिएको दाबी भ्रामक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १८:५५