जेनजी आन्दोलन सम्बन्धी बीबीसीको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्र
फागुन १४, २०८२ २०:४
काठमाडौँ । निर्वाचन आयोगले गत २३-२४ भदौको ‘जेनजी आन्दोलन’ सम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बीबीसीको उक्त भिडिओ रिपोर्ट हटाउनका लागि बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।
बीबीसी आई इन्भेस्टिगेसनले ‘शट लाइक एनिमिज’ शीर्षकमा करिब ४२ मिनेटको डकुमेन्ट्री सार्वजनिक गरेको थियो । डकुमेन्ट्रीमा २३-२४ भदौको हिंसात्मक प्रदर्शन, सुरक्षा निकायले गरेको बल प्रयोग र त्यस क्रममा भएका ७७ जनाको मृत्युबारे विस्तृत अनुसन्धान गरिएको दाबी गरिएको छ ।
बीबीसीको रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको ‘पुलिस रेडियो लग’ समेत सार्वजनिक गरिएको छ । डकुमेन्ट्रीमा विद्यालयको पोसाकमै रहेका १७ वर्षीय श्रीयम चौलागाईं, ३४ वर्षीय विनोद महर्जन लगायत निशस्त्र युवाहरूमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको दृश्य र प्रमाणहरू देखाइएको छ ।
डकुमेन्ट्रीमा कमाण्ड सेन्टरको प्राविधिक कमजोरी, सुरक्षा निकायबिचको समन्वय अभाव र उच्च नेतृत्वले जिम्मेवारी लिन अस्वीकार गरेको विषयलाई मुख्य रूपमा उठाइएको छ । सोही आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको र देशमा ठुलो राजनीतिक परिवर्तन आएको उल्लेख छ ।
यही २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सङ्घारमा बीबीसीले यो सामग्री सार्वजनिक गरेपछि राजनीतिक र सुरक्षा वृत्तमा बहस सिर्जना भइरहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता र शान्ति सुरक्षालाई ध्यानमा राख्दै उक्त सामग्री हटाउन प्रेस काउन्सिलमार्फत पहल थालेको बुझिएको छ ।
बीबीसी वर्ल्ड सर्भिस र बीबीसी नेपाली सेवाले यो रिपोर्ट अंग्रेजी र नेपाली दुवै भाषामा सार्वजनिक गरेका थिए ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ २०:१७
