close

फ्याक्टचेक: केपी ओलीले झापामा मतदातालाई बाँड्न पैसा ल्याएको दाबीसहितको भिडिओ भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

फागुन १५, २०८२ १७:५१

फ्याक्टचेक: केपी ओलीले झापामा मतदातालाई  बाँड्न पैसा ल्याएको दाबीसहितको भिडिओ भ्रामक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको जनतालाई आगामी चुनावको लागि बाँँड्न भनेर ल्याएको पैसा प्रहरीले समातेको दाबी सहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको भारतीय नम्बर प्लेटको स्कार्पियोलाई झापाको भरतपुरबाट नियन्त्रणमा लिएको र ती स्कार्पियोमा भएको पैसा ओलीको भएको भन्ने दाबी गरिएको हो । तर टेकपानाको तथ्यजाँचबाट उक्त दाबी भ्रामक रहेको पुष्टि भएको छ । 

कागजका बन्डललाई पैसा जसरी देखाएर नक्कली सरकारी कागजातहरू प्रयोग गरेर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले १२ फागुन (२४ फेब्रुअरी) राति पक्राउ गरेको थियो । सोही तथ्यलाई तोडमोड गरेर ओलीले बाँड्न लागेको पैसा समातिएको दाबी सहित भ्रम फैलाइएको हो ।  

दाबी

टिकटक प्रयोगकर्ता ‘gopal4735’ ले एक भिडि‌ओ सार्वजनिक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने निर्वाचनका लागि जनतालाई बाँड्न भनेर अवैध तरिकाले ल्याएको पैसा जफत भएको दाबी गरेका छन् । २६ फेब्रुअरीमा सार्वजनिक भिडिओमा उनले केपी ओलीले २० फागुनमा (चुनावको अघिल्लो दिन) बाँड्ने भनेर ल्याएको पैसा समातेको दाबी गरेका हुन् ।

सार्वजनिक भिडिओमा उनले लेखेका छन्, “केपि वलि ले 20 गते झापा (5) को जन्तालाइ (gift) दिने भनेर ल्यायको पैसा समायो पुलिस ले धन्यबाद (Nepal police)” 

उक्त टिकटकमा प्रहरी अधिकारीले बोलिरहेको सानो क्लिप राखिएको छ । क्लिपमा अधिकारीले भनेका छन्, “मिति २०८२ ११/१२ गते बेलुका १८:०० बजेको समयमा दुईवटा भारतीय नम्बर प्लेटको सवारी साधन शङ्कास्पद रूपमा चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको अवस्थामा भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वाटर गणले चेकजाँच गर्ने क्रममा शङ्कास्पद गतिविधि देखि तत्कालै आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गर्दा…” तर उक्त क्लिपले घटनाको बारेमा विस्तृत विवरण खुलाउन सकेको छैन । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।


 

यो सामग्री तयार पार्दा सम्ममा उक्त भिडि‌ओलाई ४३ हजार ८०० भन्दा धेरैले लाइक गरेका छन् भने टिकटकमा यो भिडि‌ओ आठ लाख भन्दा धेरै पटक हेरिएको छ ।  

अनुसन्धान

उक्त भिडिओ भाइरल भएको पाइएपछि हामीले घटनाको बारेमा जानकारी लिने प्रयास गर्‍यौँ । सबैभन्दा पहिला भाइरल भिडिओबाट प्रहरीको तस्बिरलाई क्रप गरेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । 

‘Himshikhar Television’ ले २५ फेब्रुअरी साँझ ७:४१ मा ‘झापामा १२ करोड ‘पैसा’ को डरलाग्दो स्क्याम ।  भारतीयसहित ७ जना पक्राउ ।’ शीर्षकमा राखेको भिडिओ फेला पर्‍यो । 

उक्त भिडिओमा प्रहरीले सरकारी छाप किर्ते गरेर ठगी धन्दामा सक्रिय सातजना सहित दुई ओटा भारतीय नम्बर प्लेटको गाडीलाई झापामा नियन्त्रणमा लिएको जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सादा कागजलाई नोटको आकारमा काट्थे र बन्डल बनाउँथे । प्रत्येक बन्डलको तल र माथि भने सक्कली नोट राख्थे । यसरी हेर्दा टिनका बक्सामा राखिएका ती बन्डलहरू पूरै सक्कली पैसा जस्तो देखिन्थे ।

मानिसहरूलाई विश्वास दिलाउन उनीहरूले ती नक्कली नोटका बन्डलहरूसँगै नेपाल सरकारका नक्कली पत्र, छाप र प्रहरीको नक्कली परिचयपत्रहरू समेत राख्ने गर्थे । उनीहरूले मेचीनगरस्थित एक होटलको कोठामा लगेर ती टिनका बक्सा र पैसाका बन्डलहरूको भिडियो तथा फोटो बनाउँथे । त्यसपछि आफ्ना चिनजानका व्यक्ति वा व्यापारिक पृष्ठभूमिका मानिसहरूलाई त्यो भिडिओ पठाउँथे ।

उनीहरूले व्यापारमा लगानी गरेर कमाएको ठुलो रकम कानुनी अड्चनका कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको झुटो कथा बनाउँथे । जफत भएको सो रकम छुटाएर भारत लैजान पेनाल्टी (जरिवाना) तिर्नुपर्ने भन्दै उनीहरूले पीडितहरूसँग आर्थिक सहयोग माग्थे । अहिले जरिबाना तिर्न सहयोग गरेमा पछि सो रकम निस्किएपछि ठूलो नाफा वा प्रतिफल दिने प्रलोभन देखाएर उनीहरूले मानिसहरूलाई फसाउने गर्थे ।

भिडिओमा प्रहरी अधिकारीले घटनाको जानकारी दिँदै भनेका छन्, “मिति २०८२ ११/१२ गते बेलुका १८:०० बजेको समयमा दुईवटा भारतीय नम्बर प्लेटको सवारी साधन शङ्कास्पद रुपमा चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको अवस्थामा भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वाटर गणले चेकजाँच गर्ने क्रममा शङ्कास्पद गतिविधि देखि तत्कालै आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गर्दा निज अभियुक्तहरूले सङ्गठित रूपमा ठगी, आपराधिक लाभ लगायतको उद्देश्य राखी नोट (कागजी मुद्रा) आकारको सादा कागजको प्रत्येक बन्डलमा तल-माथि सक्कली कागजी मुद्रा राखी र साथमा सरकारी कार्यालयको पत्र समेत राखी आफूले व्यापारमा लगानी गरी नाफा कमाएको रकम कानुनी अड्चनको कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको र सो रकम भारततर्फ ल्याउन पेनाल्टी स्वरूप जरिबाना बापतको रकम बुझाउनु पर्ने भएकोले केही रकम आवश्यक परेको भनी चिनजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई उक्त भिडियो सन्देश पठाई ठगी गर्ने योजना बनाउने गरेको गिरोह फेला परेको छ ।

निज अभियुक्तहरूले मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडाँगीस्थित लुकाई राखेको २१ वटा टिनको बक्सा र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरिएको, साथै निजहरुको साथबाट सरकारी छाप तथा दस्तखत किर्ते कागजातहरू, नेपाल सरकारको निशान छाप र नेपाल प्रहरीको किर्ते गरी बनाएका परिचयपत्र समेत नक्कली सरकारी डकुमेन्टहरू प्रहरीले बरामद गर्न सफल भएको छ ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

 

त्यसपछि हामीले प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति पनि खोज्ने प्रसार गर्‍यौँ । २५ फेब्रुअरी राति ८:५० मा जिल्ला प्रहरी कार्यालय झापाको फेसबुक पेज ‘DPO JHAPA, NEPAL’ ले सार्वजनिक गरेको विज्ञप्ति फेला पर्‍यो । 
 

उक्त विज्ञप्तिमा बरामद भएको भारतीय गाडीहरूको विवरण राखिएको छ । दर्ता नम्बर ‘WB06U3006’ भएको सुजुकी बलेनो  र ‘WB06X0300’ नम्बरको टोयोटा फर्च्युनर बरामद गरेको विज्ञप्तिमा उल्लेख छ । 

हामीले भाइरल भिडिओमा राखिएको गाडी र प्रहरीले बरामद गरेको गाडीलाई तुलना गरेर हेर्‍यौँ । यी दुबै गाडी एउटै रहेको पाइयो । 

दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने निर्वाचनका लागि झापाका जनतालाई बाँड्न भनेर अवैध तरिकाले ल्याएको पैसा प्रहरीले जफत गर्‍यो । 

दाबीकर्ता 

टिकटक प्रयोगकर्ता  ‘gopal4735’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता 

तथ्य 

झापामा नक्कली नोट (कागजका बन्डल) र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले १२ फागुन (२४ फेब्रुअरी) राति  पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर प्रस्तुत गरिएको हो । प्रहरी अधिकारीले ठगी घटनाको विस्तृत विवरण दिँदै गरेको भिडिओको सुरुवाती छोटो क्लिप मात्र काटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा बाँड्न ल्याएको पैसा जफत भएको भनी गलत सन्दर्भ दिइएको हो । बरामद भएका टिनका बक्सामा सक्कली पैसा नभई ठगी गर्ने उद्देश्यले तयार पारिएका सादा कागजका बन्डलहरू थिए । 

निष्कर्ष

केपी शर्मा ओलीले झापाका जनतालाई चुनावमा बाँड्न ल्याएको पैसा प्रहरीले समातेको दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १८:२