close

ह्याक गर्ने प्रयास भएपछि रवि लामिछानेको फेसबुक पेज मेटाबाट लक भएको छ- सचिवालय

टेकपाना टेकपाना

फागुन १९, २०८२ १०:५२

ह्याक गर्ने प्रयास भएपछि रवि लामिछानेको फेसबुक पेज मेटाबाट लक भएको छ- सचिवालय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज मेटाले ‘लक’ गरिदिएको छ । बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक-पटक प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले उक्त कदम चालेको लामिछानेको सचिवालयले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै सचिवालयले मंगलबार बिहानैदेखि पेजमा ह्याकरहरूले आक्रमणको प्रयास गरेको दाबी गरेको छ । पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र पुनः नियन्त्रणमा नआएसम्म उक्त पेजबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने विज्ञप्तिमा उल्लेख छ ।

"सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने पटक-पटक प्रयास गरेको जानकारी गराउँदछौँ," सचिवालयले विज्ञप्तिमा भनेको छ, "उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई यो फेसबुक पेज मेटाद्वारा 'लक' गरिएको छ ।"

पेज लक भएको अवस्थामा त्यहाँबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न र भ्रममा नपर्न पनि आग्रह गरिएको छ ।

हाल फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको र यसबिचमा आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन सचिवालयले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ ११:७