फ्याक्टचेकः मोदीले बालेनलाई बधाई शुभकामना दिएको भन्दै एआई अडियो राखेको भ्रामक भिडिओ भाइरल
फागुन १९, २०८२ १२:५
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको एउटा भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओलाई लिएर टेकपानाले फ्याक्टचेक गर्दा एआईबाट तयार पारी भ्रम फैलाइरहेको पुष्टि भएको छ ।
दाबी
फेसबुक प्रयोगकर्ता Santa Shagar ले २ मार्च २०२६ को राति ७ः४३ बजेको समयमा उक्त भिडिओ पोस्ट गरेका छन् । Harka Sampang A Revolution पेजसँगै अन्य ६ वटा अकाउन्टलाई ट्याग गर्दै राखिएको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेनलाई शुभकामना आहिसकेउ मोदीबाट अरुको नामसम्म लिएन मोदिले।
कहिले नेपालमा अर्काले बनाएको होइन नेपालीहरुले नै बनाएको देशको नेतृत्व पाउने ?
ठूलो चिन्ताको विषय !
देशको स्वाधीन र रास्ट्रियता बनाउने हो भने अब सबैले माटो चिन्नमा मतदान गरौ !”
भिडिओमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बोलिरहेको देखिन्छ । जसको अडियो ट्रान्सक्रिप्सन यस्तो छ;
“मैं नरेंद्र मोदी मेरे प्रिय पड़ोसी देश नेपाल के सभी भाइयों और बहनों को हार्दिक शुभकामनाएं देता हूं। मैं बालेन शाह जी को आगामी चुनाव के लिए शुभकामनाएं देता हूं। युवा नेतृत्व अपनी नई सोच और सकारात्मक ऊर्जा लोकतंत्र को मजबूत करती है। नेपाल निरंतर प्रगति करे, यही मेरी कामना है।"
हेर्नुहोस्, पोस्ट, आर्काइभ लिङ्क, त्यसको स्क्रिनशट र स्क्रिनरेकर्ड ।
अनुसन्धान
दाबीमाथि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान अगाडि बढायो । यस क्रममा ‘मोदिले बालेनलाई शुभकामना’, ‘मोदी बालेन’, ‘मोदी बालेन शुभकामना’ जस्ता किवर्ड राखेर विभिन्न सामाजिक सञ्जालमा सर्च गरेर गर्दा सोही भडिओ अन्य विभिन्न प्रयोगकर्ताले समेत राखेको भेटियो ।
२ मार्च २०२६ को राति ८ः३१ बजेको समयमा श्रम सस्कृती समथन पुलचोक नामक फेसबुक अकाउन्टले ‘सबैले ai भनिरहेको छ तर यदि यो सत्य हो भने सोच्नुस मोदिले बालेनलाई किन शुभकामना दिरहेको छ???यस्को पछाडीको रहस्य बुझ्न जरुरी छ अझै केही बिग्रेको छैन यो देश कता तिर लग्ने जिम्मा तपाईं हाम्रै हातमा🤝🙏 जय देश जय माटो🇳🇵’ भन्दै उक्त भिडिओ शेयर गरेको छ ।
हेर्नुहोस्, उक्त पोस्टको लिङ्क र त्यसको स्क्रिनशट

३ मार्च २०२६ को बिहान १० बजेको समयमा Binod Karki नाम गरेका फेसबुक प्रयोगकर्ताले ‘मोदी ले दिए बालेनलाई सुभकामना’ भन्दै उक्त भिडिओ राखेका छन् । हेर्नुहोस्, लिङ्क र त्यसको स्क्रिनशट ।

फेसबुक प्रयोगकर्ता Bidur Pandey, फेसबुक पेज Yatri, फेसबुक प्रयोगकर्ता Ekaraj Rai, श्रम सस्कृती समथन पुलचोक नामक फेसबुक अकाउन्ट लगायतका प्रयोगकर्ता, ishwordahal192tiktok.com 🙏 ईश्वर ❤️ प्रसाद🙏 दाहाल🌹नामक टिकटक प्रयोगकर्ता लगायतले पनि उक्त भिडिओ राखेको पाइयो ।
यो भिडिओ सुरुमा कसले अपलोड गरेको थियो भन्ने कुरा खोज्दै जाँदा Santa Shagarनामक प्रयोगकर्ताले खेको भिडिओमा टिकटक आईडीको वाटरमार्कको केही भाग देखिएको छ । माथि K र तल d8817 मात्रै देखिएको छ ।

तर टिकटक प्रयोगकर्ता ishwordahal192tiktok.com
🙏 ईश्वर ❤️ प्रसाद🙏 दाहाल🌹
ले राखेको भिडिओमा भने उक्त वाटरमार्कमा @speed8817 लेखेको देखियो । हेर्नुहोस् तलको स्क्रिनशट ।

त्यसपछि हामीले उक्त युजरआईडी भएको टिकटक अकाउन्ट खोज्यौँ । जसमा अधिकांश एआईबाट बनाइएका भिडिओहरू राखिएका छन् । तर उक्त अकाउन्टमा सो भिडिओ हटाइसकेको देखियो । उक्त आईडीबाट भिडिओ पोस्ट गरिएको लिङ्क ।

अब यो भाइरल भिडिओको वास्तविकता तर्फ लागौँ । हामीले उक्त भिडिओ डाउनलोड गरेर एआई सिर्जित सामग्री पहिचान गर्ने टुल हाइभ मोडेरेसनमा राखेर हेर्यौँ ।
उक्त टुलले भिडिओ एआई सिर्जित हुनसक्ने सम्भावना ०.७ प्रतिशत र अडियो एआईबाट तयार पारिएको हुनसक्ने सम्भावना ९९.७ प्रतिशत देखायो । अर्थात् मोदीको भाषण एआईबाट तयार पारिएको निष्कर्ष उक्त टुलले दियो । हेर्नुहोस् तलको नतिजा ।

यस बाहेक हामीले इन्टरनेट तथा सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई शुभकामना दिएको आधिकारिक समाचारहरू फेला पार्न सकेनौँ । यसबाट भाइरल भिडिओ भ्रामक रहेको पुष्टि भयो ।
दाबी
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडिओमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई आगामी निर्वाचनका लागि शुभकामना दिएको दाबी गरिएको छ । भिडिओमा मोदीले “मैं बालेन शाह जी को आगामी चुनाव के लिए शुभकामनाएं देता हूं…” भन्ने सन्देश दिएको सुनिन्छ र यसलाई वास्तविक सम्बोधनका रूपमा प्रस्तुत गरिएको छ ।
दाबीकर्ता
उक्त भिडिओ २ मार्च २०२६ मा फेसबुक प्रयोगकर्ता Santa Shagar ले पोस्ट गरेका थिए । साथै Harka Sampang A Revolution पेजसहित अन्य अकाउन्टहरूलाई ट्याग गरी “बालेनलाई शुभकामना आहिसकेउ मोदीबाट…” भन्ने क्याप्सनसहित शेयर गरिएको थियो । त्यसपछि श्रम सस्कृती समथन पुलचोक, Binod Karki, Bidur Pandey, Yatri, Ekaraj Rai लगायतका फेसबुक प्रयोगकर्ता तथा टिकटक प्रयोगकर्ता ishwordahal192tiktok.com (वाटरमार्क @speed8817 देखिने) बाट पनि सोही भिडिओ पुनःप्रसारण गरिएको पाइयो ।
तथ्य
टेकपाना फ्याक्टचेक डेस्कले ‘मोदिले बालेनलाई शुभकामना’ लगायतका किवर्ड प्रयोग गरी सामाजिक सञ्जालमा खोजी गर्दा भिडिओ विभिन्न प्लेटफर्ममा रिपोस्ट गरिएको भेटियो । मूल स्रोत खोज्ने क्रममा टिकटक वाटरमार्कको आधारमा @speed8817 नामक आईडीसम्म पुगियो, तर उक्त भिडिओ त्यहाँबाट हटाइएको थियो । थप परीक्षणका लागि भिडिओ डाउनलोड गरी एआई सामग्री पहिचान गर्ने टुल Hive Moderation मा परीक्षण गर्दा अडियो ९९.७ प्रतिशत एआईबाट सिर्जित भएको सम्भावना देखियो भने भिडिओ एआई-सम्बन्धी सम्भावना न्यून (०.७ प्रतिशत) देखियो । यसले दृश्यभन्दा अडियो नै कृत्रिम रूपमा तयार पारिएको सङ्केत गर्छ । साथै मोदीले बालेनलाई लक्षित गरी कुनै आधिकारिक शुभकामना दिएको विश्वसनीय समाचार स्रोत वा आधिकारिक माध्यममा पुष्टि भेटिएन ।
निष्कर्ष
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन्द्र शाह (बालेन) लाई निर्वाचनका लागि शुभकामना दिएको भन्दै भाइरल गरिएको भिडिओ भ्रामक हो । अनुसन्धान र एआई परीक्षण उपकरणको नतिजाअनुसार भिडिओमा प्रयोग गरिएको अडियो आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर तयार पारिएको देखिन्छ । त्यसैले उक्त सामग्री सत्य होइन, एआईबाट बनाइएको भ्रामक प्रचार सामग्री हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १२:१०
