युट्युबमार्फत ‘फागुन २१ गते चुनाव हुँदैन’ भन्दै अफवाह फैलाउने ज्योतिषी पक्राउ
फागुन १९, २०८२ १५:३४
काठमाडौँ । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने भन्दै अफवाह फैलाएको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।
परिसर प्रमुख एसपी पवन भट्टराईले आरोपी ज्योतिषीमाथि सघन अनुसन्धान भइरहेको जानकारी दिए । “निर्वाचनको विरुद्धमा युट्युबमार्फत विभिन्न अफवाह फैलाएको देखिएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,” भट्टराईले टेकपानालाई भने, “अहिले हामी उहाँको बयान लिने र थप अनुसन्धान गर्ने क्रममा छौँ ।”
भट्टराईका अनुसार आरोपी ज्योतिषीले केही समयदेखि डिजिटल माध्यममार्फत निर्वाचनको वैधानिकता र सुनिश्चिततामाथि प्रश्न उठाउँदै सर्वसाधारणलाई भ्रमित पार्ने गतिविधि गर्दै आएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ नै काठमाडौँ प्रहरीको जिम्मा लगाएको थियो ।
बिचमा सार्वजनिक बिदा परेका कारण केही प्रक्रियामा ढिलाइ भएको भन्दै उनले हाल निर्वाचन विरोधी गतिविधिका बारेमा सोधपुछ भइरहेको जानकारी दिए ।
ज्योतिषी अधिकारीले युट्युब लगायतका सामाजिक सञ्जालमार्फत ‘फागुन २१ मा अनिष्ट छ, चुनाव हुँदैन, ग्रहण लाग्ने समयमा चुनाव भए अनिष्ट हुन्छ’ जस्ता कुरा गरेका थिए ।
पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १६:२२
