मौन अवधिमा पनि फेसबुकमार्फत भटाभट आफ्ना उम्मेदवारका लागि भोट माग्दै एमाले नेता अन्सारी
फागुन १९, २०८२ १९:३२
काठमाडौँ । नेकपा (एमाले) का नेता अबुल हुसेन अन्सारीले निर्वाचन मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत एमाले उम्मेदवारहरूको पक्षमा भोट मागिरहेको पाइएको छ । सोमबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिपछि मात्रै उनले २६ ओटा पोस्ट/शेयर गरेका छन्, जसमध्ये अधिकांश निर्वाचन र एमालेसँग सम्बन्धित छन् ।
यसअन्तर्गत उनले एमाले उम्मेदवारहरूका पोस्टरहरू अपलोड गर्दै सूर्य चिन्हमा भोट मागेका छन् । यस्तो गतिविधिले निर्वाचन आचारसंहिता, २०८२ को ठाडो उल्लंघन गरेको देखिन्छ ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा १७ मा मौन अवधिसम्बन्धी व्यवस्था छ । यसअनुसार, मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नभएसम्म कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न निषेध छ । यसअन्तर्गत सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने स्पष्ट व्यवस्था छ ।
यस अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पनि रोक लगाइएको छ ।
नेपाली कांग्रेस परित्याग गरी गत ५ माघमा मात्रै एमाले प्रवेश गरेका अन्सारीलाई पार्टीले सुरुमा सुनसरी क्षेत्र नम्बर-४ बाट टिकट दिएको थियो । यद्यपि, पछि उनको टिकट खोसेर एमालेले सो क्षेत्रमा जगदीश कुशियैतलाई उम्मेदवार बनायो । टिकट खोसिए पनि उनी एमाले उम्मेदवारहरूको प्रचारमा सक्रिय रहँदै आएका छन् । तर मौन अवधिमा गरिएको यस्तो प्रचारले उनीमाथि कानुनी कारबाही हुनसक्ने देखिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ १९:३६
