close

मौन अवधिमा पनि फेसबुक बुस्ट गरेर चुनावको प्रचारप्रसार, आयोगको निर्देशन लत्याउँदै यी उम्मेदवार

टेकपाना टेकपाना

फागुन २०, २०८२ ११:४३

मौन अवधिमा पनि फेसबुक बुस्ट गरेर चुनावको प्रचारप्रसार, आयोगको निर्देशन लत्याउँदै यी उम्मेदवार

 

काठमाडौँ । निर्वाचन आयोगले सोमबार रातिदेखि मौन अवधि सुरु भएको घोषणा गरे पनि विभिन्न राजनीतिक दल तथा उम्मेदवारले भने सामाजिक सञ्जालमा शुल्क तिरेर गरिने प्रचारप्रसार नै रोकेका छैनन् । आयोगले मौन अवधिमा भौतिक उपस्थितिसहित डिजिटल माध्यमबाट समेत प्रचार गर्न नपाइने निर्देशन जारी गरे पनि फेसबुकमा दर्जनौँ राजनीतिक विज्ञापन अझै सक्रिय रहेका छन् ।

मेटाको ‘एड लाइब्रेरी’ अनुसार यो समाचार तयार पार्दासम्म विज्ञापन नहटाउने उम्मेदवार थुप्रै छ । इलाम क्षेत्र नम्बर १ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार ज्वाला नेपालको नामबाट फेसबुकमा हाल चार ओटा विज्ञापन चलिरहेका छन् । सोही पार्टीका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार राममणी न्यौपानेको विज्ञापन पनि सक्रिय नै छ । 

यस्तै, ‘राष्ट्रिय परिवर्तन पार्टी’का तर्फबाट ‘उज्यालो नेपाल पार्टी– परिवर्तन’का लागि चुनाव चिन्ह ‘चिम’ मा भोट माग्दै विज्ञापन गरिएको छ भने उज्यालो नेपाल पार्टी मोरङको नामबाट पनि प्रचार सामग्री बुस्ट गरिएको पाइएको छ ।

सामाजिक सञ्जालमा प्रचार सामग्री राख्ने क्रममा प्रज्वल काफ्ले नामका व्यक्तिले झापा क्षेत्र नम्बर ५ का उम्मेदवारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नाम जोडेर तयार पारिएको सामग्री ‘बुस्ट’ गरेका छन् । साथै, राष्ट्र निर्माण दलले आफ्नो पार्टीको प्रचारका लागि राखेका दुई ओटा विज्ञापन पनि अहिलेसम्म हटाइएको छैन । 

नेपाली काङ्ग्रेसको र्‍याली देखिने भिडिओ राख्दै यो उत्कृष्ट पार्टी भएको दाबी गर्दै ओमश्री नारायण सिंहले गरेको विज्ञापन पनि सक्रिय छ । 

 

मेटा एड्स लाइब्रेरीमा राजनीतिक विषयवस्तुलाई आधार बनाएर शुल्क तिरी गरिएका यस्ता विज्ञापन पारदर्शी रूपमा देखिने भए पनि उम्मेदवारले यसलाई बेवास्ता गरेका हुन् । यहाँ क्लिक गरेर रियल टाइममा कसले फेसबुकमा सामग्री बुस्ट गरेका छन् भन्ने हेर्न सकिन्छ ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधि सुरु भएपछि प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन वा कार्यशाला गोष्ठी गर्न पाइँदैन । आयोगले बाजा बजाउन, नाचगान गर्न, भोजभतेर, जुलुस वा हुलहुज्जत गर्न पनि पूर्ण रोक लगाएको छ । 

विशेषगरी सामाजिक सञ्जाल, अनलाइन वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री शेयर गर्न नहुने व्यवस्था छ । यस अवधिमा एसएमएस, साउण्ड सिस्टम वा सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने तथा दल र उम्मेदवारले पहिले नै सामाजिक सञ्जालमा राखेका विज्ञापन वा प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने निर्देशन छ । तर यी निर्देशनका बाबजुद उम्मेदवारले डिजिटल माध्यमबाट मौन अवधिको उल्लङ्घन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ ११:४३