आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै आएका समाचार भ्रामक, आयोगले भन्यो उजुरी नै आएको छैन
फागुन २०, २०८२ १२:५८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको तथा हुने भन्ने दाबी भ्रामक देखिएको छ । बुधबारदेखि सामाजिक सञ्जाल तथा केही माध्यममा तामाङले जर्मनीको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएको दाबी गर्दै उनको उम्मेदवारी खारेज हुने वा भइसकेको भन्दै विभिन्न समाचार तथा पोस्ट सार्वजनिक भइरहेका थिए ।
यसै विषयमा टेकपानासँग कुरा गर्दै निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले ती समाचारमा कुनै सत्यता नभएको बताएकी छन् । बाहिर आएका हल्लाहरू पूर्ण रूपमा ‘फेक न्युज’ भएको उनले स्पष्ट पारिन् ।
“आशिका तामाङको विरुद्धमा आयोगमा कुनै पनि उजुरी परेको छैन र यस विषयमा आयोगमा कुनै छलफल पनि भएको छैन,” सहायक प्रवक्ता श्रीसले भनिन्, “उजुरी नै नपरेपछि उम्मेदवारी खारेजीको निर्णय हुने त कुरै भएन ।”
आयोगले सामाजिक सञ्जालमा फैलिएका यस्ता भ्रामक समाचारको पछि नलाग्न समेत आग्रह गरेको छ । बुधबार बिहान प्राइम टेलिभिजनले 'आशिका तामाङको उम्मेदवारी खारेज हुने' भन्दै समाचार राखेको थियो । तर अहिले उक्त समाचार डिलिट भइसकेको छ ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १३:४७
