पोखरा एभेन्जर्सको इन्स्टाग्राम पोस्टमा जिम्मी निशमको कमेन्ट- ‘खेलाडीलाई पारिश्रमिक देऊ’
फागुन २५, २०८२ १४:४७
काठमाडौँ । न्यूजिल्यान्डका चर्चित क्रिकेटर जिम्मी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्सलाई सामाजिक सञ्जालमा खुल्ला रूपमा ट्रोल गर्दै आफ्नो पारिश्रमिक माग गरेका छन् । आइतबार सम्पन्न टी-२० क्रिकेट विश्वकपको फाइनलमा निशमले गरेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै पोखरा एभेन्जर्सले राखेको इन्स्टाग्राम पोस्टमा निशम आफैँले ‘कूल, पे योर प्लेयर्स’ (ठीक छ, आफ्ना खेलाडीलाई पैसा देऊ) भन्दै कमेन्ट गरेपछि यो विवाद सतहमा आएको हो ।
एनपीएल सिजन २ मा पोखरा एभेन्जर्सबाट खेलेका निशमले टिमकै आधिकारिक पोस्टमा तलब माग्दै कमेन्ट गरेपछि फ्रेन्चाइज टोलीको आलोचना भइरहेको छ । एभेन्जर्सले भारतविरुद्धको फाइनल खेलको १६औँ ओभरमा निशमको प्रदर्शन (३ विकेट, १ रन र २ डट बल) को तारिफ गर्दै उनले एनपीएलमा आफ्नो टिमको प्रतिनिधित्व गरेकोमा गर्व व्यक्त गरेको थियो ।
तर, निशमको जवाफी कमेन्टले टिमले अझैसम्म खेलाडीहरूको पारिश्रमिक भुक्तानी नगरेको तथ्य बाहिर ल्याइदिएको छ । यो सामग्री तयार पार्दासम्म निशमको उक्त इन्स्टाग्राम कमेन्टमा २,५४६ भन्दा बढी 'लाइक' र ८६ वटा 'रिप्लाई' आइसकेका छन् ।
यस घटनालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अन्तर्राष्ट्रिय बेइज्जतीको संज्ञा दिँदै पोखरा एभेन्जर्सले तत्काल खेलाडीलाई पारिश्रमिक दिन दबाब दिएका छन् । साथै केही प्रयोगकर्ताले पोखरालाई कारबाही गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग माग गरेका छन् ।
कतिपयले क्यानका सचिव पारस खड्कालाई मेन्सन गर्दै लिगको विश्वसनीयता जोगाउन र खेलाडीको रकम दिलाउन आग्रह गरेका छन् । प्रयोगकर्ताहरूले यसलाई एउटा फ्रेन्चाइजको समस्या मात्र नभई नेपाली क्रिकेटकै साखमा लागेको दाग भनेका छन् ।
अन्तर्राष्ट्रिय स्तरका खेलाडीले यसरी सार्वजनिक रूपमा पारिश्रमिक माग्नुले विश्व क्रिकेट जगतमा नेपालको छवि बिग्रनसक्ने केही सामाजिक सञ्जाल प्रयोगकर्ताको चिन्ता छ । एक प्रयोगकर्ता लेख्छन्, “पारिश्रमिक विवादले भविष्यमा प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिच्किचाउन सक्छन् । नेपालको क्रिकेट व्यावसायिकतामाथि ठुलो प्रश्नचिन्ह खडा हुन सक्छ ।”
यस विषयमा पोखरा एभेन्जर्स र क्यानका पदाधिकारीहरूले हालसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ १५:९
