close

पोखरामा महावीर पुन र एक व्यक्तिबिच नोकझोक चलेको भिडिओ भाइरल, भएको के थियो ?

टेकपाना टेकपाना

फागुन २५, २०८२ २०:३१

पोखरामा महावीर पुन र एक व्यक्तिबिच नोकझोक चलेको भिडिओ भाइरल, भएको के थियो ?

काठमाडाैँ । पूर्व शिक्षामन्त्री महावीर पुनसँग एक सर्वसाधारणले नोकझोक गरिरहेको भिडिओ यतिबेला भाइरल भइरहेको छ । प्रतिनिधि सभामा म्याग्दीबाट स्वतन्त्र उठेर जीत हात पारेलगत्तै वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि खर्च जुटाउन पोखरामा पुस्तक बिक्री गरेका पुन र पोखराका एक सर्वसाधारणबीच पृथ्वीचोकमा भनाभन भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

हस्ताक्षर गर्दै किताब बेचिरहेका पुनलाई एक व्यक्तिले ‘सांसदको काम नीति निर्माण गर्ने हो कि सडकमा किताब बेच्ने ?’ भन्दै प्रश्न गरेको सुनिन्छ । ती व्यक्तिले पुनलाई लक्षित गर्दै भनेका छन्, “तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ? जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।”

जवाफमा पुनले आफूले कारखाना चलाउनकै लागि जनताबाट म्यान्डेड पाएको दाबी गरेका थिए । सो क्रममा भीडभाडमा धकेलाधकेल भएको भन्दै ती व्यक्ति र पुनबिच केहीबेर नोकझोक चलेको थियो ।

उक्त घटनापछि फेसबुकमा स्टाटस लेख्दै महावीर पुनले पोखरामा आइतबार मात्रै ८०० ओटा किताब बिक्री भएको जानकारी दिएका छन् । उनले भीडमा आफूले एक व्यक्तिलाई धकेलेको स्वीकार गर्दै लेखेका छन्, “फोटो खिच्नेहरूको हुलमा मैले एक जना मान्छेलाई पछाडि धकेलेँ । अनि सांसद भएर किताब बेच्ने हो कि जनताको काम गर्ने हो भनेर कुर्लियो ।"

पुनले अगाडि लेखेका छन्, “मैले कारखाना पनि जनताकै लागि चलाएको हो भनेँ । अनि मलाई किन धकेलिस् भन्दै थुक्क... भनेर गयो । भीडमा मैले अरूलाई पनि धकेलेको थिएँ । उसलाई साह्रै रिस उठेछ । हल्का रमाइलो भयो ।”

 

पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ २०:३१