चुनाव खर्चमा मदिराको हिसाब देखाएपछि भाइरल बने स्वतन्त्र उम्मेदवार दिपक रावल
फागुन २८, २०८२ २२:२७
काठमाडौँ । निर्वाचन खर्च विवरणमा ‘थकान मेटान’ शीर्षकमा मदिरामा खर्च भएको विवरण राखेपछि कैलाली क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावल भाइरल भएका छन् । रावलले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ मत मात्र प्राप्त गरेका थिए । उनैले २७ फागुनको मिति राखेर जिल्ला निर्वाचन कार्यालय कैलालीलाई सम्बोधन गर्दै लेखेको खर्च विवरण हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
उक्त विवरणमा रावलले मनोनयन दर्ता सहित विभिन्न सात शीर्षकमा गरेर कुल दुई लाख ३६ हजार ५०० खर्च भएको उल्लेख गरेका छन् । विवरणको सातौँ बुँदामा ‘स्वयंसेवक साँझपख थकान मेटान’का लागि ‘8848’, ‘भोड्का’ र लोकल मदिरा खुवाएको उल्लेख छ । १५ दिनसम्म मदिरा खुवाएर कुल ४५ हजार ५०० रुपैयाँ खर्च भएको उक्त विवरणमा देख्न सकिन्छ ।
सो विवरण उम्मेदवार रावलले आफ्नो एक लाख २० हजारभन्दा धेरै फलोअर भएको फेसबुक पेजबाट सार्वजनिक गरेका थिए । ११ मार्च राति ७:५० मा उनले खर्च विवरण सार्वजनिक गर्दै उनले लेखेका छन्, “चुनावी विवरणको खर्च पेस गरेको छु । कस्तो लाग्यो हजुर लाई कमेन्ट गर्नुहोला” । हेर्नुहोस् रावलको पोस्ट ।
उक्त विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उम्मेदवार इमान्दार र पारदर्शी भएको बताएका छन् । कतिपय प्रयोगकर्ताले भने चुनावी विवरणलाई हास्यास्पद तरिकाले प्रस्तुत गरेका छन् ।

यद्यपि रावलले सार्वजनिक गरेको चुनाव खर्च विवरणमा जिल्ला निर्वाचन कार्यालयको दर्ता नम्बर र सहीछाप भने देखिएको छैन ।
जिल्ला निर्वाचन कार्यालय भन्छ- रावलको चुनाव खर्चको आधिकारिक विवरण प्राप्त भएको छैन
जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले रावलको हालसम्म खर्च विवरण प्राप्त नभएको बताए । बिहीबार दिउँसो टेकपानासँग भएको कुराकानीमा चौधरीले भने, “कैलाली क्षेत्र नं २ का उम्मेदवारहरूमध्ये अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिंह बिसी (बुढा क्षेत्री) ले मात्र खर्च विवरण पेस गर्नुभएको छ । दिपकजीको विषय के हो, कसो हो थाहा भएन तर आधिकारिक रूपमा उहाँले पेस गर्नुभएको छैन ।”
“मदिरामा खर्च गरेको विवरणलाई निर्वाचन आयोगले के गर्छ?” भन्ने प्रश्नमा उनले भने, “उहाँले बुझाउँछु भन्नुभयो भने जिल्ला निर्वाचन कार्यालयले लिइदिन्नँ भन्न त मिलेन । तर, निर्वाचन आचारसंहिताले यस्ता कुराहरू प्रयोग गर्न भने दिँदैन । उहाँलाई पछिसम्म असर गर्न सक्छ । हाम्रो काम भनेको खर्च विवरणहरू सङ्कलन गरेर निर्वाचन आयोगलाई पठाउने हो । त्यसपछि आयोगले नै यसको बारेमा हेर्छ ।”
रावल भन्छन्- भाइरल हुन्छु भन्ने लागेको थिएन
जिल्ला निर्वाचन कार्यालयलाई ह्वाट्सएप र ईमेलमार्फत निर्वाचन खर्च व विवरण पठाएको दिपक रावलले बताए । उनले भने, “तर, ह्वाट्सएप र इमेल गरेर नहुने रहेछ । सामाजिक सञ्जालमा जुन विवरण राखेको हो, त्यसको ओरिजिनल नै लगेर पेस गर्नुपर्ने रहेछ । ओरिजिनल विवरण चाहिँ पेस गर्न बाँकी छ ।”
आफूले चुनावमा खर्च भएका विषयलाई स्पष्ट रूपमा खुलाएर खर्च विवरण पेस गरेको उनले बताएका छन् ।
“अरू नेताहरूले के गर्छन् थाहा भएन । म स्पष्ट वक्ता पनि हुँ । साथीभाइले साँझ परेपछि चाहियो भन्छन् । त्यही भएर मैले सिधै लेखेको हुँ ।” उनले भने, “१५ दिनमा ४५ हजार जति खर्च भएको छ । दिनमा तीन हजारको रक्सी मात्रै खाएको होइन, मासु लगायत अन्य कुराहरू पनि खाएको हो । त्यसलाई मिलाएर मैले होलसेलमा राखिदिएको हुँ । कम मात्रामा ८८४८ ब्रान्डको रक्सी र बढी मात्रामा लोकल रक्सीको प्रयोग भएको छ । दौडधुप गर्नुहुनेहरूले खानुभएको हो ।”
‘खर्च विवरण सार्वजनिक गरेपछि भाइरल हुन्छु भन्ने त सोच्नुभएको थियो होला नि !’ भन्ने प्रश्नमा रावलले भने, “होइन । भाइरल हुन्छु भनेर त सोचेको थिइनँ । तर, चुनाव हारे पनि यो चाहिँ एक प्रकारको जित भएको जस्तो लागेको छ । किनभने पाठ त सिक्न पर्यो नि । कि त मदिरामा खर्च गर्नै भएन । हरेक नेताहरू प्रत्येक साँझ कार्यकर्ताहरूलाई खुवाउँछन् नै । तर विवरण खुलाउने बेलामा चाहिँ खानपिन भनेर मात्र राख्छन् । अनिवार्य खर्च हुने भएपछि यथार्थ देखाएर राख्न पनि सक्नुपर्यो नि ।”
पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ २२:४२
