close

फ्याक्टचेकः मोदीले नेपाललाई गाभेर अखण्ड भारत बनाउन चाहेको भन्दै भाइरल भएको भिडिओ डिपफेक

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २९, २०८२ २१:२१

फ्याक्टचेकः मोदीले नेपाललाई गाभेर अखण्ड भारत बनाउन चाहेको भन्दै भाइरल भएको भिडिओ डिपफेक

काठमाडौँ । शुक्रबार सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहितका देशलाई गाभेर अखण्ड भारत बनाउन चाहेको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । ५३ सेकेन्डको उक्त भिडिओमा प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गर्दै भारत इजरायलको पक्षमा रहेको र आफूले पनि अखण्ड भारत बनाउन चाहेको बताइरहेको देखाइएको छ । 

साथै अफगानिस्तान, बङ्गलादेश, नेपाल र श्रीलङ्कालाई भारतमा गाभेर अखण्ड भारत बनाउन चाहेको कुरा मोदीले बताइरहेको देखाइएको छ । तर टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ । 

दाबी

शुक्रबार, १३ मार्च २०२६, दिउँसो ४ः१७ बजे ‘Janata Times’ नामको फेसबुक पेजले एक भिडिओ राख्यो । भिडिओको क्याप्सनमा लेखिएको छ, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आपत्तिजनक अभिव्यक्ति, भन्छन्-बिना युद्ध नै नेपाल अखण्ड भारत बन्छ ।” भिडिओको क्याप्सनमा लेखिएको छ, “रास्वपाले जित्न साथ मोदी भन्छन : बिना युद्द नै नेपाल अखण्ड भारत बन्छ ।” तलपट्टि लेखिएको छ, “मोदीको आपत्तिजनक अभिव्यक्ति अखण्ड भारतमा नेपाल समेटिन्छ ।” 

भिडिओमा मोदी बोलिरहेको जस्तो देखिने आवाजलाई उतारेर नेपालीमा अनुवाद गर्दा यस्तो हुन्छ-

“मलाई कसैले सोध्यो कि इरान युद्धमा भारत कहाँ खडा छ? भारतको विषयमा कसैलाई कुनै सन्देह हुनु हुँदैन कि हामी इजरायलको पक्षमा उभिएका छौं। इजरायल र भारतको लक्ष्य एउटै हो - इजरायललाई 'ग्रेटर इजरायल' बन्नु छ र भारतलाई 'अखण्ड भारत' बन्नु छ। इरान जस्ता आतंकवादी राष्ट्रहरूको पतन भयो भने मात्र भारतले पाकिस्तानलाई परास्त गर्ने अवसर पाउनेछ। अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका त बिना युद्ध नै अखण्ड भारत बन्नेछन्। हाम्रो मुख्य लक्ष्य पाकिस्तान हो र इरानको विनाश विना यो लक्ष्य वास्तविकता बन्न सक्दैन। इरानले आफ्नो आतंकवादको परिणाम भोग्नै पर्नेछ।" 
 

यो सामग्री तयार पार्दासम्म ७९ हजार भ्युज आएको उक्त भिडिओमा ४१९ रियाक्सन, १३७ कमेन्ट र ५३१ ओटा शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड । 

अनुसन्धान

मोदीले नेपालसहित अन्य छिमेकी राष्ट्र अफगानिस्थान, बङ्ग्लादेश र श्रीलङ्कालाई गाभेर अखण्ड भारत बनाउन चाहेको दाबी फेला पार्न डेस्कले ‘नरेन्द्र मोदी अखण्ड भारत’ शीर्षक फेसबुकमा सर्च गर्‍यो । त्यस क्रममा फेसबुकमा ‘Netra Mainali’ नामका प्रयोगकर्ताले उक्त भिडिओ पोस्ट गरेको पाइयो । 

उनले लेखेका छन्, “स्तारबादी ईन्डिया मुर्दाबाद,मोदि चोर मुर्दाबाद----

----घण्टेहरुले अब यसलाई AI भन्ने होला ----

नेपाल बंगलादेश आफ्गनिस्तान पाकिस्तान र श्रीलंका छिटै अखण्डभारतको हिसा बन्ने भारतीय नरेन्द्र मोदीको लक्ष्य।

:-- नरेन्द्र मोदी” 

उनको भिडिओलाई २८२ पटक शेयर गरिएकोछ । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनशट ।

त्यस्तै ‘Rudra Mani Pokharel’ ले पोस्ट गर्दै लेखेका छन्, “पाली स्वाधीनतामाथि आँच आउने अभिव्यक्ति दिँदै नरेन्द्र मोदी कमेन्टमा VDO” । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

नरेन्द्र मोदीको सामाजिक सञ्जाल एक्स ह्यान्डलमा भाइरल भइरहेको गेटअपमै बोल्दै गरेको भिडिओ भेटियो । तर उनको अघिल्तिर रहेको माइक्रोफोन, पृष्ठभूमि, मोदीको गेटअप र ब्याकग्राउन्ड सबै मेल खाने भिडिओ खोज्दै जाँदा द हिन्दुको आधिकारिक युट्युब च्यानलमा मोदीले गरेको करिब ३३ मिनेटको पूरा भाषणको भिडि‌ओ फेला पर्‍यो । तर उनको उक्त भाषणमा भाइरल क्लिप भनिएको कुरा कतै बोलेको सुनिँदैन । 

मोदीको दाबीको विषय इन्टरनेटमा सर्च गर्दा पीआईबी फ्याक्टचेकले उक्त भिडिओलाई डिपफेक रहेको पुष्टि गरेको भेटियो । पीआईबी फ्याक्ट चेक अनुसार यो फेक भिडिओ तयार पार्नको लागि भिजुअल (दृश्य) वास्तवमा दिल्लीमा आयोजित 'NXT smit 2026' काे प्रयोग गरिएको छ । मूल र बिना तोडमोड गरिएको भाषणमा प्रधानमन्त्री मोदीले प्रविधि, इनोभेसन र भारतको डिजिटल भविष्यको विषयमा बोलेका छन् । उनको उक्त पुरा सम्बोधनमा उनले इरान, पाकिस्तान, नेपाल लगायतका देशसँग सम्बन्धित कुनै पनि भू-राजनीतिक विषयमा प्रवेश नै गरेका छैनन् । 

दाबी

सामाजिक सञ्जालमा भाइरल भइरहेको ५३ सेकेन्डको भिडिओमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तान, बङ्गलादेश, नेपाल र श्रीलङ्कालाई गाभेर ‘अखण्ड भारत’ बनाउने योजना रहेको अभिव्यक्ति दिएको दाबी गरिएको छ । उक्त भिडिओमा उनी भारत इजरायलको पक्षमा रहेको र इरानको पतनपछि पाकिस्तानलाई परास्त गर्दै यी देशहरू बिना युद्ध नै अखण्ड भारतमा समेटिने दाबी गरेको जस्तो सुनिने अडियो प्रयोग गरिएको छ ।

दाबीकर्ता

Janata Times नामको फेसबुक पेज, फेसबुक प्रयोगकर्ता Netra Mainali र Rudra Mani Pokharel लगायत ।

तथ्य

तथ्यजाँचका क्रममा भाइरल क्लिपको दृश्य स्रोत खोज्दा मोदीले दिएको पूर्ण भाषण द हिन्दुको आधिकारिक युट्युब च्यानलमा फेला पर्‍यो, जुन दिल्लीमा आयोजित NXT Conclave 2026 मा दिएको करिब ३३ मिनेट लामो सम्बोधन हो । मूल भिडिओमा मोदीले प्रविधि, इनोभेसन र भारतको डिजिटल भविष्यबारे बोलेका छन् भने नेपाल, इरान, पाकिस्तान वा ‘अखण्ड भारत’ सम्बन्धी कुनै अभिव्यक्ति छैन । साथै Press Information Bureau Fact Check ले पनि भाइरल क्लिपलाई कृत्रिम रूपमा बनाइएको डिपफेक भिडिओ भएको पुष्टि गरेको छ ।

निष्कर्ष

यसरी सामाजिक सञ्जालमा फैलाइएको भिडिओ वास्तविक भाषणबाट दृश्य लिएर अडियो परिवर्तन गरी बनाइएको डिपफेक हो । त्यसैले नरेन्द्र मोदीले नेपालसहित अन्य देशलाई गाभेर अखण्ड भारत बनाउने अभिव्यक्ति दिएको भन्ने दाबी भ्रामक तथा मिथ्या ठहरिएको छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ २१:३४