भिजिट भिसामा म्यानमार र कम्बोडिया गई अनलाइन स्क्याममा फसेका ४० नेपालीको उद्धार
फागुन ३०, २०८२ ११:४७
काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार र कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसेका ४० जना नेपाली नागरिकको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहलमा एक साताभित्रै उनीहरूलाई उद्धार गरी स्वदेश फर्काइएको हो ।
दूतावासले २७, २८ र २९ फागुनमा जारी गरेका छुट्टाछुट्टै विज्ञप्ति अनुसार म्यानमारबाट तीन जना र कम्बोडियाबाट ३७ जना नेपालीको उद्धार गरिएको छ ।
२७ फागुनमा म्यानमारको म्यावडीमा बन्धक बनाइएका तीन जनालाई म्यानमार र थाइल्यान्डका सम्बन्धित निकायसँगको समन्वयमा बैंकक हुँदै नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्काइएको थियो ।
त्यसैगरी २८ फागुनमा १६ जना र २९ फागुनमा २१ जना गरी कम्बोडियाबाट ३७ जनाको उद्धार भएको छ । उनीहरूलाई कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको राजदूतावासले जानकारी दिएको छ ।
मानव तस्करको प्रलोभनमा परेर भिजिट भिसामा ती देशमा पुगेका नेपालीलाई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएको दूतावासले जनाएको छ । उनीहरूमध्ये धेरैजसो भिसा अवधि सकिएर बिना भिसा लुकीछिपी बसिरहेको अवस्थामा फेला परेका थिए । छिटो र धेरै पैसा कमाउने लोभमा पर्दा उनीहरू कठिन परिस्थितिमा पुगेको र अलपत्र परेका अन्य नेपालीलाई स्वदेश फर्काउने पहल भइरहेको दूतावासको भनाइ छ ।
यस्ता स्क्यामिङ केन्द्रमा काममा लगाइएका नेपालीको राहदानी रोजगारदाता कम्पनीले नै जफत गर्ने वा ट्रान्सफर हुँदा हराउने ठूलो समस्या रहेको दूतावासले जनाएको छ । यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने गरेको छ । उक्त अनुमतिपत्र उनीहरूले दिएको ठेगानामै पठाइदिने व्यवस्था मिलाइएको र यसको विस्तृत विवरण दूतावासको वेबसाइटमा समेत राखिएको जानकारी गराइएको छ ।
पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको तथ्याङ्क दूतावासले सार्वजनिक गरेको छ । दूतावासका अनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४०, सन् २०२४ मा ६४०४ र सन् २०२५ मा ९६३६ जना नेपाली भिजिट भिसामा कम्बोडिया पुगेका छन् ।
यसरी भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढेपछि दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन र नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान दूतावासले अपिल गरेको छ ।
दूतावासले अझै पनि कम्बोडियामा अलपत्र वा कठिन परिस्थितिमा रहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि सम्पर्क गर्न अपिल गरेको छ । त्यसका लागि दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधि शिवराज पराजुलीलाई +८५५१२२१५५७८, लालसिंह खड्कालाई +८५५९३२०३६६६ र रामजी कुमार क्षेत्रीलाई +८५५९६३४६५७८८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन ३०, २०८२ ११:५१
