एआईको दुरुपयोग गरी नेता र सेलिब्रेटीको चरित्रहत्या गर्ने ‘तारा राना’ साइबर ब्युरोको निगरानीमा
चैत ३, २०८२ १६:१२
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको दुरुपयोग गर्दै राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वको चरित्रहत्या गर्ने फेसबुक प्रयोगकर्ता ‘तारा राना’ नेपाल प्रहरीको साइबर ब्युरोको निगरानीमा परेका छन् । विशेषगरी नेकपा (एमाले), नेपाली काङ्ग्रेसका नेता र ती पार्टीमा आस्था राख्ने चर्चित व्यक्ति तथा कलाकारलाई लक्षित गरी उनले सामाजिक सञ्जालमा अत्यन्तै अपाच्य र अपमानजनक सामग्री पोस्ट गर्दै आएका छन् ।
करिब ३८ हजार फलोअर रहेको उक्त अकाउन्टबाट नेता तथा चर्चित अनुहारलाई जनावरको रूपमा चित्रण गरेर बेइज्जत गर्ने गरिएको छ ।
उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वसञ्चार मन्त्री एवम् एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री एवम् एमाले सचिव महेश बस्नेत, नेपाली कांग्रेसका सभापति गगन थापा, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, पूर्व शिक्षामन्त्री महावीर पुन, सञ्चारकर्मी ऋषि धमला, गायिका ज्योति मगर, अधिवक्ता युवराज सफल, एमाले समर्थक रविरत्न चुँडाल लगायतका तस्बिरलाई एआईमार्फत विकृत बनाएका छन् ।
ती तस्बिरहरूमा कसैलाई कुकुर बनाएर हड्डी खाइरहेको त कसैलाई अन्य जनावरको रूपमा प्रस्तुत गरी गम्भीर रूपमा चरित्रहत्या गरिएको छ ।

यस विषयमा टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले उक्त एकाउन्ट ब्युरोको निगरानीमा रहेको पुष्टि गरे । “तारा राना भन्ने फेसबुक प्रयोगकर्ता हाम्रो सोसल मिडिया मनिटरिङ अन्तर्गत निगरानीमा छन्,” प्रवक्ता अवस्थीले भने, “यद्यपि, अहिलेसम्म यस विषयमा कसैको औपचारिक उजुरी भने आएको छैन । उजुरी आएपछि सोही अनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”






यसरी विद्युतीय माध्यमको दुरुपयोग गरी अरूको चरित्रहत्या गर्नु र अपमानजनक तस्बिर राख्नुलाई नेपालको कानुनले गम्भीर अपराध मानेको छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका वा कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गर्न कडा रोक लगाएको छ ।
सोही दफा अनुसार महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अमर्यादित कार्य गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै कुनै व्यक्तिले यस्तो कसुर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी (डेढ गुणा बढी) सजाय हुने कानुनी प्रावधान रहेको छ ।




पछिल्लो अध्यावधिक: चैत ३, २०८२ १७:१४
