मोबाइल हेर्न नदिएको भन्दै श्रीमतीमाथि शङ्का, रिसको झोँकमा वैवाहिक बलात्कार, भिडिओ खिचेर आफन्तलाई
चैत ५, २०८२ १४:११
काठमाडौँ । रूपन्देही जिल्ला अदालतमा एक व्यक्ति विरुद्ध आफ्नै श्रीमतीलाई वैवाहिक बलात्कार गरेको र सोको भिडिओ खिचेर आफन्तलाई पठाई विद्युतीय अपराध गरेको अभियोगमा मुद्दा दायर भएको छ । श्रीमतीले आफ्नो मोबाइल हेर्न नदिएको र मोबाइलमा मात्र व्यस्त रहने गरेको भन्दै शङ्काकै कारण उत्पन्न रिसको झोँकमा श्रीमान्ले यस्तो जघन्य अपराध गरेको खुलेको हो ।
करिब ८-९ वर्षअघि विवाह भएका उनीहरूको साथमा ५ र ३ वर्षका दुई नाबालक छोराहरू पनि छन् । जाहेरी अनुसार विगत दुई वर्षदेखि श्रीमान्ले अत्यधिक मदिरा सेवन गरी श्रीमतीलाई शारीरिक, मानसिक र आर्थिक यातना दिँदै आएका थिए । श्रीमतीले आफ्नो मोबाइल हेर्न नदिने र फोनमा कुरा गर्दा आफूलाई नदेखाउने गरेका कारण आपसमा विवाद हुने गरेको विषय श्रीमान्को बयानबाट खुलेको छ ।
अभियोगपत्र अनुसार गत ७ फागुनको राति करिब ११:३० बजे प्रतिवादी श्रीमान् मदिरा सेवन गरी घर फर्किएका थिए । अघिल्लो दिन पनि झगडा भएका कारण श्रीमती उनीसँग नजिक हुन चाहिरहेकी थिइनन् । त्यही रिसमा उनले कोठाको भित्रबाट चुकुल लगाएर श्रीमतीमाथि कुटपिट सुरु गरे । उनले श्रीमतीको खुट्टा कपडाको डोरीले बाँधेर लगाएको लुगा च्यातिदिए र मरणासन्न हुने गरी कुटपिट गरे ।
त्यसपछि उनले श्रीमतीको मन्जुरी बिना जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरे । उनी त्यतिमै रोकिएनन्, यौन हिंसा गर्दैगर्दाको भिडिओ आफ्नो मोबाइल फोनबाट खिचे ।
यता घटना भइरहँदा कोठा बाहिर रहेकी पीडितकी सासूले बुहारी चिच्याएको सुनेपछि ढोका खोल्न लगाएकी थिइन् । उनले कोठाभित्र पसेर छोरालाई गाली गर्दै बुहारीको हात-खुट्टामा बाँधिएको डोरी फुकाएर ज्यान बचाइन् ।
घटनाको भोलिपल्ट बिहान श्रीमान्ले उक्त संवेदनशील भिडिओ आफ्नी श्रीमतीकी दिदीलाई इमो एप मार्फत पठाइदिए । पीडित महिलाकी दिदीले भिडिओ देखेपछि आफ्नी बहिनी रोइरहेको र पीडामा रहेको थाहा पाएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन अनुसार उनको शरीरभरि निलडाम र चोटहरू भेटिएका छन् । प्रतिवेदनमा दायाँ कुहिनोमा ५ सेन्टिमिटरको निलडाम, बायाँ काँधमा ३ सेन्टिमिटरको दाँतले टोकेको चोट, दायाँ खुट्टामा ६ सेन्टिमिटरको निलडाम र बायाँ तिघ्रामा ६ सेन्टिमिटरकै दाँतले टोकेको चोट रहेको उल्लेख छ । साथै उनको अनुहार र घाँटीको दायाँ-बायाँ भागमा नङ्ग्राले कोपरेका थुप्रै चोटहरू समेत देखिएका छन् ।
सरकारी वकिलको कार्यालयले प्रतिवादी श्रीमान् विरुद्ध वैवाहिक जबरजस्ती करणी र विद्युतीय अपराध गरी दुई मुद्दा अगाडि बढाएको छ । यो मुद्दा अहिले रूपन्देही जिल्ला अदालतमा विचाराधीन छ ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १४:११
