close

नाबालिकाको अश्लील फोटो-भिडिओ सार्वजनिक गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

चैत ९, २०८२ २३:५

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । मेसेजिङ प्लेटफर्म टेलिग्राममार्फत नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडिओ सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ दारीमबोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय अशोक लामा रहेका छन् । 

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार ती नाबालिकाको अन्तरङ्ग तस्बिर र भिडिओ टेलिग्राम अकाउन्टबाट प्रसारण भइरहेको थियो । यसको जानकारी पीडित नाबालिकाले आफ्नो इन्स्टाग्राममा जोडिएका साथीमार्फत पाएकी थिइन् । सो कुराको जानकारी पाएपछि उनले घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै साइबर ब्युरो, भोटाहिटीमा निवेदन दिएकी थिइन् ।

पीडितको निवेदनपछि गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा अशोक लामाको संलग्नता रहेको खुल्न आएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका लामाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही अगाडि बढाइएको छ । 

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आरोपी लामालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ २३:७