close

सामाजिक सञ्जालको लतले मानसिक स्वास्थ्य बिग्रियो भन्दै मुद्दा हाल्ने युवतीको पक्षमा फैसला

मेटा-युट्युबले ९० करोड क्षतिपूर्ति तिर्नुपर्ने

टेकपाना टेकपाना

चैत १२, २०८२ १३:१०

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । अमेरिकाको लस एन्जलसस्थित एक अदालतको जुरीले सामाजिक सञ्जालको लतका कारण मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी गर्ने एक युवतीको पक्षमा फैसला सुनाएको छ । बाल्यकालमा सामाजिक सञ्जालको लत बसेका कारण आफूलाई क्षति पुगेको भन्दै ती युवतीले मेटा र युट्युबविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

जुरीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटा तथा युट्युबको मालिक गुगलले नियतवश नै प्रयोगकर्तालाई लत लाग्ने खालका प्लेटफर्म बनाएको ठहर गरेको छ । कम्पनीहरूको यस्तो कार्यले ती २० वर्षीया युवतीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याएको जुरीको निष्कर्ष छ ।

'केली' नामले चिनिएकी ती युवतीलाई अदालतले ६० लाख डलर (करिब ९० करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । यस फैसलाले अमेरिकाका विभिन्न अदालतमा विचाराधीन रहेका सयौँ यस्तै प्रकृतिका मुद्दाहरूमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यता मेटा र गुगलले भने यस फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने बताएका छन् । मेटाले किशोरकिशोरीको मानसिक स्वास्थ्य अत्यन्तै जटिल विषय भएको र यसलाई एउटा मात्र एपसँग जोड्न नमिल्ने दाबी गरेको छ । यस्तै, गुगलका प्रवक्ताले युट्युब जिम्मेवारीपूर्वक बनाइएको स्ट्रिमिङ प्लेटफर्म भएको र यो सामाजिक सञ्जाल नभएको तर्क गरेका छन् ।

अदालतले केलीलाई ३० लाख डलर वास्तविक क्षतिपूर्ति र थप ३० लाख डलर जरिवाना (Punitive Damages) उपलब्ध गराउन आदेश दिएको छ । मेटा र गुगलले खराब नियत वा जालझेलपूर्ण तरिकाले प्लेटफर्म सञ्चालन गरेको जुरीको ठम्याइ छ । कुल क्षतिपूर्ति रकमको ७० प्रतिशत मेटाले र ३० प्रतिशत गुगलले बेहोर्नुपर्नेछ ।

केलीको व्यथा: १० वर्षमै डिप्रेसन

केलीले ९ वर्षको उमेरदेखि इन्स्टाग्राम र ६ वर्षको उमेरदेखि नै युट्युब चलाउन सुरु गरेकी थिइन् । बयानका क्रममा उनले भनिन्, "म परिवारसँग समय बिताउन छाडेर सबै समय सामाजिक सञ्जालमै झुम्मिन थालेकी थिएँ ।"

१० वर्षकै उमेरमा उनलाई तनाव र डिप्रेसन महसुस हुन थालेको थियो । पछि उनलाई 'बडी डिस्मर्फिया' (आफ्नो शारीरिक बनावटप्रति अत्यधिक चिन्ता गर्ने र ऐनामा आफूलाई कुरुप देख्ने समस्या) को निदान गरियो । इन्स्टाग्रामका फिल्टरहरूले आफ्नो नाक सानो र आँखा ठुलो देखाउने लोभमा उनी बाल्यकालदेखि नै ती एपहरूमा अभ्यस्त भएकी थिइन् ।

केलीका वकिलहरूले इन्स्टाग्रामको 'इन्फिनिट स्क्रोल' (अनन्तसम्म तान्न मिल्ने) जस्ता फिचरहरू प्रयोगकर्तालाई लत लगाउनकै लागि बनाइएको तर्क गरेका छन् । कम्पनीले प्रयोगकर्तालाई लामो समयसम्म टिकाइराख्न बालबालिकालाई लक्षित गरेको र उनीहरूको स्वास्थ्यको वास्ता नगरेको प्रमाणहरू अदालतमा पेश गरिएका थिए ।

यो फैसला यस्तो समयमा आएको छ, जतिबेला विश्वभर सामाजिक सञ्जालको नकारात्मक प्रभावबारे बहस भइरहेको छ । हालै अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ भने बेलायतमा पनि १६ वर्षमुनिका लागि प्रतिबन्ध लगाउने विषयमा परीक्षण भइरहेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार सामाजिक सञ्जाल कम्पनी र सर्वसाधारणबिचको सम्बन्ध अब 'ब्रेकिङ प्वाइन्ट' (अन्तिम बिन्दु) मा पुगेको छ । यसअघि न्यु मेक्सिकोको एक अदालतले पनि बालबालिकालाई यौनजन्य सामग्रीको जोखिममा पारेको भन्दै मेटालाई दोषी ठहर गरेको थियो ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १३:३८