close

काठमाडाैँ महानगरकाे शिक्षा विज्ञदेखि शिक्षा र खेलकुद मन्त्रालयको बागडोर, काे हुन् सस्मित पाेखरेल ?

टेकपाना टेकपाना

चैत १३, २०८२ १३:५९

काठमाडाैँ महानगरकाे शिक्षा विज्ञदेखि शिक्षा र खेलकुद मन्त्रालयको बागडोर, काे हुन् सस्मित पाेखरेल ?

काठमाडाैँ । सस्मित पाेखरेल बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडाैँ-५ मा निर्वाचित पोखरेलले दुई मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

बालेन काठमाडाैँ महानगरपालिकाकाे मेयरका रूपमा रहँदा पाेखरेल महानगरमा शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा रहेका थिए । बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका पाेखरेल रास्वपाको सहप्रवक्ताकाे जिम्मेवारीमा रहेका छन् ।

वि‍.सं. २०५२ फागुन १ गते काठमाडाैँमा जन्मिएका पोखरेल काठमाडाैँ क्षेत्र नं. ५ का स्थायी बासिन्दा हुन् । पाेखरेलको प्रारम्भिक शिक्षादेखि प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको हो । पछि नेपाल फर्किएका पाेखरेलले काठमाडाैँ विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी तह पूरा गरे । 

पाेखरेल हाल त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर अध्ययन गर्दैछन् ।

पाेखरेलकाे राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भएको हो । विवेकशील साझा युवा संगठनका नेता हुँदै उनी विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यसमेत भएका थिए । 

पाेखरेलसँग संसद कार्यालयमा प्रमुख सहायक भएर इन्टर्नमा काम गरेकाे अनुभव पनि छ ।

०७९ काे स्थानीय चुनावमा बालेनलाई मेयर जिताउन अग्रभागमा खटिएका पाेखरेलले बालेन मेयर भएसँगै प्रदेशसभा निर्वाचनमा काठमाडाैं ५ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रदेश सभामा लाल्टिन चुनाव चिन्ह लिएर उठेका पाेखरेल एक हजार ५२ मत ल्याएर पाँचाैं भएका थिए । पराजयपछि पाेखरेल मेयर बालेनको टिममा रहेर महानगरमै सक्रिय रहेका थिए ।

महानगरमा रहेर के गरे पाेखरेलले ?

पाेखरेल महानगरमा रहँदा शिक्षा सल्लाहकारको भूमिकामा रहेका थिए । उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समन्वय र नेतृत्वदायी भूमिका खेले ।

कक्षा १ देखि १२ सम्मका २० हजार विद्यार्थीलाई कानुनसम्मत छात्रवृत्ति दिनुपर्ने कुराकाे नेतृत्व गरेका पाेखरेलले सामुदायिक विद्यालयमा स्मार्ट बाेर्ड, बुक फ्रि फ्राईडेकाे सुरुवात, विद्यालयका भौतिक साैन्दर्यकरण, आईसीटिमैत्री विकास, दिवा खाजा कार्यक्रम, ईसीडी कक्षा काेठा जस्ता कार्यक्रम ल्याउन पहल गरेका थिए ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १४:१२