बालेन प्रधानमन्त्री बनेसँगै ६ महिनादेखि ठप्प रहेको ‘पीएमओ नेपाल’ को एक्स ह्यान्डल सक्रिय
चैत १४, २०८२ १३:२१
काठमाडौँ । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ‘एक्स’ ह्यान्डल पुनः सक्रिय भएको छ । गत भदौदेखि निष्क्रिय अवस्थामा रहेको उक्त ह्यान्डल शुक्रबार बालेन प्रधानमन्त्री बनेपछि सञ्चालनमा आएको हो ।
२३ र २४ भदौको ‘जेन-जी’ विद्रोहअघिसम्म सक्रिय रहेको यो ह्यान्डलमा सात लाख १७ हजारभन्दा बढी फलोअर रहेका छन् । २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि र २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएयता उक्त अकाउन्टको व्यवस्थापनमा अन्योल देखिएको थियो । प्रधानमन्त्री फेरिए पनि लामो समयसम्म ओलीकै तस्बिर प्रोफाइलमा राखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि कार्यालयले तस्बिर त हटायो, तर नयाँ प्रधानमन्त्री कार्कीबारे कुनै जानकारी अद्यावधिक गरेन ।
गत ५ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री कार्कीको व्यक्तिगत पोस्टलाई रिपोस्ट गरेयता उक्त अकाउन्ट पूर्णतः निष्क्रिय बनेको थियो ।
शुक्रबार बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि भने उक्त ह्यान्डललाई परिमार्जन गरिएको छ । हाल ह्यान्डलको कभर फोटोमा प्रधानमन्त्री बालेनको तस्बिर राखिएको छ भने विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले दिएको बधाई सन्देशलाई सम्बोधन गर्न थालिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र पाकिस्तानी राष्ट्रपति कार्यालयबाट प्राप्त बधाई सन्देशलाई ‘कोट रिपोस्ट’ गर्दै प्रधानमन्त्री कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ १३:२१
