भदौ २४ को घटना छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय
चैत १४, २०८२ २२:३७
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले गत २४ भदौको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ मा यो विषय पनि समेटिएको हो ।
कार्यसूचीको बुँदा नम्बर ७ मा भनिएको छ, "सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।"
गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसअघि नै २३-२४ गते भएको जेनजी आन्दोलनबारे प्रतिवेदन सरकारलाई बुझाइसकेको सन्दर्भमा नयाँ सरकारले २४ भदौको घटनालाई मात्रै अध्ययन गर्न नयाँ छानबिन समिति बनाउने निर्णय लिएको छ ।
उक्त समितिलाई घटनासँग सम्बन्धित सम्पूर्ण विवरण सङ्कलन गर्ने, प्राप्त तथ्यहरूको सूक्ष्म विश्लेषण गर्ने र घटनामा संलग्न जिम्मेवार पक्षको पहिचान गर्ने जिम्मेवारी दिइने कार्यसूचीमा उल्लेख छ ।
समितिलाई निश्चित समयसीमाभित्र आफ्नो प्रतिवेदन पेस गर्न निर्देशन दिइने र उक्त प्रतिवेदनको सिफारिसका आधारमा दोषीउपर आवश्यक थप कारबाही प्रक्रिया तत्काल अघि बढाइने सरकारले स्पष्ट पारेको छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २२:४५
