close

पासपोर्ट र लाइसेन्स होम डेलिभर गर्न ‘गभर्मेन्ट कुरियर सर्भिस’ सञ्चालन गर्दै सरकार, १०० दिनभित्र लागू गर्ने योजना

टेकपाना टेकपाना

चैत १४, २०८२ २३:२

पासपोर्ट र लाइसेन्स होम डेलिभर गर्न ‘गभर्मेन्ट कुरियर सर्भिस’ सञ्चालन गर्दै सरकार, १०० दिनभित्र लागू गर्ने योजना

काठमाडौँ । सरकारले सरकारी सेवालाई नागरिकको घरदैलोमै पुऱ्याउन हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कुरियर सर्भिस’ (Government Courier Service) का रूपमा विकास गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत यो प्रविधिमैत्री सेवा १०० दिनभित्र लागू गर्ने योजना अघि सारिएको हो ।

शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा सरकारी कागजात प्राप्त गर्न कार्यालयमै पुग्नुपर्ने झन्झट हटाउन आधुनिक कुरियर प्रणाली विकास गर्ने उल्लेख छ । यस व्यवस्था अन्तर्गत प्रविधिको प्रयोग गरी पासपोर्ट, नागरिकताको प्रतिलिपि र लाइसेन्स जस्ता महत्वपूर्ण सरकारी कागजात नागरिकको घरमै पुऱ्याउने व्यवस्था मिलाइने सरकारले जनाएको छ ।

कार्यसूचीको बुँदा नम्बर २७ मा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘Government Courier Service’ का रूपमा विकास गर्ने, जसका मार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुऱ्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने ।”

पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २३:३