फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने जानकारी दिन ‘ट्र्याकिङ र अलर्ट’ प्रणाली लागु हुने
चैत १४, २०८२ २३:२१
फाइल तस्बिर
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने र ढिलाइ भएमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणाली लागु गर्ने जनाएको छ ।
शासकीय सुधारका लागि १०० ओटा कार्यसूची सार्वजनिक गर्दै सरकारले सरकारी सेवालाई छिटोछरितो र जवाफदेही बनाउन यस्तो निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कार्यसूची भने शनिबार साँझ मात्र सार्वजनिक गरिएको हो ।
सरकारले सार्वजनिक गरेको कार्यसूचीको ३४ नम्बर बुँदामा फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग गर्ने उल्लेख छ । यो व्यवस्था विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र समावेश गरी कार्यान्वयनमा ल्याइने सरकारको योजना छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २३:२१
