एउटै विवरण पटक-पटक भर्नु नपर्ने, नयाँ सरकारले ६० दिनभित्र ‘अटो–फिल’ प्रणाली लागू गर्ने
चैत १४, २०८२ २३:२९
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सरकारी सेवा लिनका लागि नागरिकले एउटै व्यक्तिगत विवरण बारम्बार भर्नुपर्ने झन्झट अन्त्य गर्न प्रविधिमा आधारित ‘अटो–फिल’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । प्रधानमन्त्री बालेनको नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत डेटा सङ्कलन र प्रयोगमा यस्तो नवीन व्यवस्था अघि सारिएको हो ।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा नागरिकको डेटालाई एकीकृत गरी एक सरकारी निकायले लिएको विवरण अर्को निकायले स्वतः प्रयोग गर्न सक्ने वातावरण मिलाउने उल्लेख छ । यस व्यवस्थाले सरकारी कार्यालयका डिजिटल प्रणालीहरूमा डाटाको अन्तरआबद्धता सुनिश्चित गर्ने सरकारको विश्वास छ ।
कार्यसूचीको बुँदा नम्बर २९ मा भनिएको छ, “सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण (जस्तैः नागरिकता नम्बर हाल्दा नाम/ठेगाना) पुनः सोध्नुको सट्टा ‘Auto-fill’ हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले आफ्ना प्रणालीहरूमा ६० दिनभित्र गर्ने । नागरिकले आफ्नो विवरण (जस्तैः नागरिकता नम्बर) सरकारलाई एक पटक दिएपछि, अन्य सरकारी निकायले सोही डेटा प्रयोग गर्ने वातावरण मिलाउने ।”
यो प्रणाली लागू भएपछि नागरिकले कुनै पनि सरकारी फाराम भर्दा नागरिकता नम्बर जस्ता मुख्य पहिचान उल्लेख गर्नेबित्तिकै अन्य विवरणहरू प्रणालीबाट स्वतः भरिनेछन् ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २३:३५
