close

४५ दिनभित्रै नागरिक एपबाट राहदानी र लाइसेन्सको अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाउँदै सरकार

टेकपाना टेकपाना

चैत १५, २०८२ ७:१२

४५ दिनभित्रै नागरिक एपबाट राहदानी र लाइसेन्सको अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाउँदै सरकार

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एपको प्रयोगलाई विस्तार गर्ने भएको छ । प्रधानमन्त्री बालेनको नेतृत्वमा गठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत ४५ दिनभित्र राहदानी र सवारीचालक अनुमति पत्रका लागि एपमार्फत नै आवेदन दिन सकिने व्यवस्था मिलाउन लागिएको हो ।

शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा डेटा सुरक्षा र प्रयोगकर्ताको सहजतालाई ध्यान दिँदै प्रविधिमा आधारित अनलाइन आवेदन प्रणालीको सुधार गर्ने उल्लेख छ ।

कार्यसूचीको बुँदा नम्बर ३१ मा भनिएको छ, “अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एप मार्फत आवेदन दिने व्यवस्था मिलाउने । यसरी नागरिक एप मार्फत आवेदन दिँदा व्यक्तिले आफ्नो फोनमा रहेको एपले ‘Locally Store’ गरेको विवरण वा अन्य प्रणालीबाट प्राप्त विवरणको आधारमा ‘Form Fill-up’ गर्ने व्यवस्था मिलाउने । तर नागरिक एपले ‘Centrally Data Store’ गर्न भने नमिल्ने बनाउने । यस्तो व्यवस्थाबाट प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमति पत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने ।”

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ ७:३३