सबै कर्मचारीको डिजिटल प्रोफाइलसँगै सरुवा-बढुवा स्वचालित बनाउन ३ महिनाभित्र PMIS आर्किटेक्चर बनाउँदै बालेन सरकार
चैत १५, २०८२ ७:३६
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निजामती प्रशासनलाई प्रविधिमैत्री र स्वचालित बनाउन कर्मचारीको अद्यावधिक ‘डिजिटल प्रोफाइल’ तयार गर्ने भएको छ । नयाँ मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ अन्तर्गत कर्मचारी व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउने योजना अघि सारिएको हो ।
शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा कर्मचारीको नियुक्तिदेखि अवकाशसम्मका सबै प्रक्रियालाई प्रविधिमार्फत अनुमानयोग्य बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तीन महिनाको समयसीमा दिइएको छ । यसका लागि आधुनिक सूचना प्रणालीको ढाँचा विकास गर्ने सरकारको लक्ष्य छ ।
कार्यसूचीको बुँदा नम्बर १९ मा भनिएको छ, “कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाशसम्मको व्यवस्था अनुमानयोग्य र स्वचालित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन महिनाभित्र कर्मचारी व्यवस्थापन सूचना प्रणाली (Personnel Management Information System- PMIS) को आर्किटेक्चर तयार गर्ने ।”

पछिल्लो अध्यावधिक: चैत १५, २०८२ ७:३६
