कृषि उपजको बजार पहुँच सुदृढ गर्न कृषिबजार सूचना प्रणाली, कृषकको मोबाइलमै दैनिक मूल्य जानकारी
चैत १५, २०८२ ८:१६
काठमाडौँ । नव गठित बालेन शाह नेतृत्वको सरकारले कृषि उपजको बजार पहुँच सुदृढ गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ । शनिबार १०० दिनमा गरिने १०० बुँदै कार्यसूची अन्तर्गत सरकारको पहिलो मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको हो ।
कार्यसूची अनुसार एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याइने बताइएको छ । साथै प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको नियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या रहेको छ ।
कार्यसूची अनुसार उक्त समस्या समाधान गर्न ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरिनेछ । त्यस्तै कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागु गर्ने र सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गर्ने घोषणा गरिएको छ ।
यसैगरी प्रत्येक पालिकामा साप्ताहिक कृषि हाटबजार सञ्चालन गर्न स्थानीय तहलाई सहजीकरण गर्ने, कृषि उपजको भण्डारण तथा बजारीकरण सुधारका लागि 'एक पालिका, एक चिस्यान केन्द्र' कार्यक्रम प्रारम्भ गर्ने निर्णय समेत कार्यसूचीमा समावेश छ । प्रत्येक जिल्लामा सार्वजनिक निजी साझेदारीमा चिस्यान केन्द्र स्थापना गर्न १० दिनभित्र सम्भाव्यता अध्ययन गरिनेछ ।
पछिल्लो अध्यावधिक: चैत १५, २०८२ ८:१६
