बालेन सरकारका १०० दिने कार्यसूचीको ट्र्याकिङ गर्न सञ्चालनमा आयो ‘प्रतिपक्ष डटकम’
चैत १६, २०८२ ७:५६
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेका शासकीय सुधारका १०० कार्यसूचीहरूको प्रत्यक्ष निगरानी (ट्र्याक) गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ । बालेन नेतृत्वको नवगठित मन्त्रीपरिषद्को पहिलो बैठकले शुक्रबार स्वीकृत गरी शनिबार सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’लाई आधार बनाएर यो वेबसाइट सञ्चालनमा ल्याइएको हो ।
सरकारको उक्त कार्यसूचीमा न्यूनतम २४ घण्टादेखि १०० दिनभित्र सम्पन्न गर्ने विभिन्न कार्यक्रम तय गरिएका छन् । सार्वजनिक कार्यसूचीमा साझा प्रतिबद्धता, समन्वय र जनविश्वास, प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता, सार्वजनिक सेवा प्रवाह र गुनासो व्यवस्थापन समेटिएका छन् ।
यसैगरी डिजिटल शासन, सुशासन र भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खरिद तथा परियोजना व्यवस्थापन सुधार, लगानी तथा पर्यटन प्रवर्धन, ऊर्जा, राजस्व सुधार, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र सामाजिक सुरक्षासम्बन्धी विषयहरू सूचीमा समावेश छन् ।
‘प्रतिपक्ष डटकम’ले सरकारका तिनै १०० बुँदे प्रतिबद्धतालाई मुख्य आधार बनाएर कामको प्रगतिको आधारमा वर्गीकरण गरेको छ । वेबसाइटमा सरकारले कति ओटा प्रतिबद्धता जनाएको थियो, तीमध्ये कति पूर्ण भए, कति काम भइरहेका छन्, कति तोडिए र कतिको सुरुवात नै भएको छैन भन्ने तथ्याङ्क देख्न सकिन्छ ।
यसका साथै कुन काम कहिलेसम्म सम्पन्न गर्ने भनिएको थियो र हाल त्यसको अवस्था के छ भन्ने जानकारी पनि त्यहाँ समावेश छ । हरेक बुँदा सम्पन्न गर्न कति दिन बाँकी छ भन्ने जानकारी सूचीको तलपट्टि राखिएको छ । सर्वसाधारणको सहजताका लागि वेबसाइटलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढ्न मिल्ने बनाइएको छ ।
प्राविधिक रूपमा यो वेबसाइट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको प्रयोग गरी ‘भाइब कोडिङ’मार्फत तयार पारिएको देखिन्छ । जसमा १०० ओटै प्रतिबद्धताको सङ्क्षिप्त विवरण राखिएको छ । यद्यपि, यो वेबसाइट कसले सञ्चालन गरेको हो भन्ने खुलाइएको छैन । साथै, यसको ब्याकइन्डले कसरी काम गर्छ र कामको मूल्याङ्कन तथा ट्र्याकिङ कुन संयन्त्रबाट भइरहेको छ भन्ने विषय पनि गोप्य नै राखिएको छ ।
टेकपानाले सम्प्रेषण गरेका समाचारहरूः
पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १०:४३
