close

गृहमन्त्री गुरुङले सांसद हर्क सामपाङलाई कारबाहीको चेतावनी दिएको भन्दै फेक स्क्रिनशट भाइरल

टेकपाना टेकपाना

चैत १६, २०८२ १३:३०

गृहमन्त्री गुरुङले सांसद हर्क सामपाङलाई कारबाहीको चेतावनी दिएको भन्दै फेक स्क्रिनशट भाइरल

 

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङलाई कारबाहीको चेतावनी दिएको भन्दै नक्कली स्क्रिनशट भाइरल भएको छ । आइतबार साम्पाङले गृहमन्त्री गुरुङबारे भ्रामक सूचना फैलाएका थिए । 

टेकपानाको फ्याक्टचेक डेस्कले साम्पाङको उक्त दाबी भ्रामक पुष्टि गरिसकेको छ । साम्पाङले आफूबारे भ्रामक सामग्री फैलाएकाले गृहमन्त्री गुरुङले कारबाहीको चेतवानी दिएको दाबी उक्त स्क्रिनशटमा गरिएको छ । ‘योर इन्फरमेसन’ नामक फेसबुक पेजले स्क्रिनशट सहितको भिडिओ राखेको छ । सो भिडिओको क्याप्सनमा लेखिएको छ, “गृहमन्त्री सुदनको हर्कलाई कडा चेतावनी ।” तलपट्टि सुदन गुरुङले फेसबुकमा अपलोड गरेको जस्तो स्क्रिनशट राखिएको छ ।

उक्त स्क्रिनशटमा लेखिएको छ, “प्रिय हर्क साम्पाङ ज्यू, हालै तपाईंले “चीनले नाका बन्द गरेको छ" भन्ने गलत सूचना फैलाउनुभएको पुष्टि भएको छ। यसले जनमानसमा डर र भ्रम सिर्जना गर्न सक्छ । कृपया भविष्यमा यस्तो सूचना फैलाउन बन्द गर्नुहोस् र जानकारी प्रकाशन गर्नु अघि आधिकारिक स्रोतबाट पुष्टि गर्नुहोस्। चेतावनीको बाबजुद दोहोर्याइएमा सूचना प्रविधि ऐन र सम्बन्धित कानुन अनुसार कानुनी कारबाही गरिनेछ।”

यो स्क्रिनशट आफैमा अस्वाभाविक देखिन्छ । खासगरी जसरी यसमा टेक्स्ट अलाइनमेन्ट बीचमा परेको छ, त्यसले नै पोस्ट नक्कली भएको पुष्टि हुन्छ । फेसबुकमा पोस्ट अलाइनमेन्ट जहिले पनि बाँयापट्टि हुन्छ । यसमा उल्लेख भएको ‘सूचना प्रविधि ऐन’ नै नेपालमा छैन । यो सामग्री तयार पार्दासम्म ४७ हजार बढी रिाक्सन आएको सो भिडिओमा ४७ सय कमेन्ट आएका छन् भने दुई हजार भन्दा बढी पटक शेयर भएको छ ।

समित वश्याल नामक फेसबुक प्रयोगकर्ताले पनि सोही स्क्रिनशट पोस्ट गरेको पाइएको छ । 

यसबारे थप जानकारी खोज्ने क्रममा गृहमन्त्री सुदन गुरुङको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टबाट यस्तो सामग्री पोस्ट भएको देखिएन । त्यस्तै कुनै पनि सञ्चार माध्यमले सुदन गुरुङले चेतावनी दिएको भन्ने विषयमा समाचार प्रकाशन समेत नगरेको पाइयो । भ्रामक सूचना राखेका सांसद हर्क साम्पाङलाई चेतावनी दिएको भन्दै उल्टै भ्रामक तथा नक्कली सामग्री पोस्ट भएको पुष्टि हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १३:३४