ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले टिकटकर सुनिता खड्का विरुद्ध दिए किटानी उजुरी
चैत १६, २०८२ १५:५१
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । साम्पाङले सोमबार भोटाहिटीस्थित ब्युरोको कार्यालयमा उपस्थित भई टिकटकर सुनिता खड्का विरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् ।
साम्पाङले दिएको उजुरीमा खड्काले आफू र आफ्नो परिवारको हत्या गर्ने तथा घरसमेत जलाइदिने धम्की दिएको दाबी गरिएको छ । निवेदनमा भनिएको छ, “म लगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई आम सञ्चार माध्यममा अपशब्द प्रयोग गरी गालीगलौज गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गरिपाऊँ ।”
उनले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर समाजमा भ्रम फैलाएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । जाहेरी दिएपछि फेसबुकमा पोस्ट राख्दै सामपाङले भनेका छन्, “ कारवाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ???।”
यसअघि सोमबार बिहान साम्पाङले उजुरी दिने तयारी गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । आफू विरुद्ध उजुरी पर्ने निश्चित भएपछि टिकटकर खड्काले धम्कीपूर्ण भिडिओ हटाउँदै स्पष्टीकरण दिएकी थिइन् । उनले आफूले आवेगमा आएर त्यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएको स्वीकार गरेकी छिन् ।
सांसद साम्पाङले भने आफू प्रतिपक्षको भूमिकामा रहेर सरकारको आलोचना गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले सुनियोजित रूपमा धम्की दिएको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, “यही हो त रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) समर्थकको लाइन ? सीआईबीले काम गर्छ कि गर्दैन हेरौँ । सरकारको एकपक्षीय दादागिरी रहे देशलाई अराजकताले निल्नेछ ।”
पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १६:५०
