close

जलेर महिलाको मृत्यु भएको घटनामा साम्प्रदायिक द्वन्द्व फैलाउने गरी टीकाटिप्पणी नगर्न प्रहरीको अपिल

टेकपाना टेकपाना

चैत १६, २०८२ २०:५

जलेर महिलाको मृत्यु भएको घटनामा साम्प्रदायिक द्वन्द्व फैलाउने गरी टीकाटिप्पणी नगर्न प्रहरीको अपिल

काठमाडौँ । बाँकेको नेपालगन्जमा एक युवतीको जलेर मृत्यु भएको घटनालाई लिएर सामाजिक सञ्जालमा साम्प्रदायिक द्वन्द्व फैलाउने खालका टीकाटिप्पणी नगर्न प्रहरीले चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान भइरहेकाले समाजमा उत्तेजना र विद्वेष फैलाउने गतिविधि नगर्न सर्वसाधारण र सञ्चार माध्यमलाई आग्रह गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२, कोरियनपुरस्थित सडकमा गत १४ चैत राति करिब ११:३५ बजे २२ वर्षीया सिर्जना बुढा मगर जलेको गम्भीर अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उपचारका लागि भेरी अस्पताल पुर्‍याइए पनि १५ चैत बिहान १:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले यस घटनालाई लिएर सामाजिक सञ्जालमा भइरहेका उत्तेजित र भ्रमपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले भने, “घटनाको अनुसन्धान भइरहेको अवस्थामा विभिन्न समुदायबिच द्वन्द्व फैलाउने र शान्ति सुरक्षामा असर पार्ने गरी सामग्री सम्प्रेषण नगर्न हामी विशेष अनुरोध गर्दछौँ । भ्रमपूर्ण र साम्प्रदायिक सद्भाव बिथोल्ने खालका गतिविधि गर्नेलाई कानुनी कारबाही गरिनेछ ।”

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा मृतक सिर्जनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका २४ वर्षीय मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सिर्जना र आरिफ विगत दुई वर्षदेखि नेपालगन्ज-८, रानीतलाउमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । डीएसपी पातलीका अनुसार हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको छ भने अन्य दुई जनाको खोजी भइरहेको छ ।

घटनाको पृष्ठभूमि हेर्दा १३ चैतमा सिर्जनाले आरिफविरुद्ध कुटपिटको उजुरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले आरिफलाई नियन्त्रणमा लिए पनि १४ चैतमा ‘अब उप्रान्त झगडा नगर्ने’ आपसी सहमतिमा उनी छुटेका थिए । तर, सोही दिन राति नै सिर्जना आरिफको घर नजिकै जलेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले यो घटना हत्या हो वा आत्महत्या भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट र अन्य प्राविधिक प्रमाणका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ । “अझै पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ,” डीएसपी पातलीले थपे ।

यसैबिच, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा नियन्त्रणमा लिइएका युवक र मृतक युवती फरक-फरक धर्मका भएकाले यसलाई साम्प्रदायिक रङ्ग दिने प्रयास गरिएको छ । कतिपयले धार्मिक आस्थाका आधारमा गालीगलौज समेत गरिरहेका छन् । तर, प्रहरीले हालसम्मको अनुसन्धानबाट त्यस्तो कुनै साम्प्रदायिक कोण नदेखिएको स्पष्ट पारेको छ । घटनालाई अनावश्यक रूपमा धार्मिक विवाद नबनाउन र आधिकारिक सूचना पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न प्रहरीले सञ्चार माध्यमहरूलाई सचेत गराएको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ २०:४६