close

हप्तामा शनिबार र आइतबार गरी २ दिन बिदा हुने सूचना देख्नु भयो ? नझुक्किनुस्, अप्रिल फूल मनाइएको हो

टेकपाना टेकपाना

चैत १८, २०८२ २०:२८

हप्तामा शनिबार र आइतबार गरी २ दिन बिदा हुने सूचना देख्नु भयो ? नझुक्किनुस्, अप्रिल फूल मनाइएको हो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लेटर हेड राखेर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको भन्दै भ्रामक सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । १७ चैत २०८२ को मिति राखिएको बिदा सम्बन्धी उक्त सूचना वास्तवमा अप्रिल फुल (मूर्ख दिवस)को अवसर पारेर झुक्याउनकै लागि तयार पारिएको हो ।
‘Ktm Dainik’ नामक फेसबुक पेजले “अब शनिबार र आइतबार बिदा हुने ।” क्याप्सन सहित १ मार्च (१८ चैत) साँझ ५:५६ मा मन्त्रालयको लेटरहेड राखिएको सूचना शेयर गरेको छ । “शैक्षिक संस्थाहरूमा साप्ताहिक बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना” विषय राखिएको उक्त सूचनामा आगामी शैक्षिक सत्र २०८३ देखि शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ । हेर्नुहोस् पोस्ट

 

 

शिक्षासँग सम्बन्धित सूचना दिँदै आएका अन्य पेज र फेसबुक ग्रुपहरूमा पनि यही किसिमका समाचारहरू सार्वजनिक भएका छन् । शिक्षा खबर’, Arjun Bist, लाेकेन जी, Itahari News, Aama, Balkrishna Sharma, Harish Mahara लगायत कयौँ फेसबुक पेज तथा प्रयोगकर्ताहरूले यो सूचना शेयर गरेका छन् । कतिपय प्रयोगकर्ताहरूले उक्त सूचना वास्तविक सूचनाको रूपमा लिइ रहेका छन् भने कतिपयले वास्तविक नै हो भनेर प्रश्न समेत गरिरहेका छन् । 

वास्तवमा उक्त सूचना भने आधिकारिक होइन । सूचनामा देखिएका विभिन्न त्रुटिले उक्त सूचना नक्कली भएको पुष्टि गर्छ । 

  • सार्वजनिक सूचनामा शिक्षा मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाको हस्ताक्षर देखिएको छ । 

  • भाइरल भइरहेको तस्बिरमा मिति र उपसचिवको हस्ताक्षर र सूचनाको फन्ट फरक देखिएको छ । 

  • उक्त तस्बिरमा आधिकारिक सूचनामा उपलब्ध हुने पत्र सङ्ख्या र चलानी नम्बर उपलब्ध छैन । 

  • सूचनामा जनशक्ति, पुन:निर्धारण लगायतका शब्दहरू बिग्रिएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट र फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि उक्त सूचना राखिएको छैन । सूचनामा मन्त्रीस्तरीय निर्णय भनिएको छ तर शिक्षामन्त्री सस्मित पोखरेलले पनि उक्त निर्णयको बारेमा कुनै जानकारी गराएका छैनन् । 

सेमन्त कोइरालाले फेसबुक पोस्ट मार्फत उक्त सूचनाको खण्डन गरेका छन् । उनले भनेका छन्, "मेरो हस्ताक्षर रहेको शैक्षिक संस्थामा साप्ताहिक बिदा सम्बन्धी सूचना विभिन्न व्यक्तिको फेसबुक वालमा गएको जानकारी प्राप्त भयो । उक्त सूचना मन्त्रालयको नभएको र भ्रामक रहेको अनुरोध छ ।"

साथै मन्त्रालयले समेत यस विषयमा छुट्टै विज्ञप्ति नै प्रकाशित गरेर यो भ्रामक खबरको खण्डन गरेको छ । "शैक्षिक संस्थाहरू प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन पूर्ण रूपमा बन्द हुने भनी मन्त्रालयको निर्णय, कारण र उद्देश्य समेत उल्लेख गरी प्रकाशन भएको कपोलकल्पित र भ्रामक सूचनामा कुनै सत्यता नभएको ब्यहोरा सबै शैक्षिक संस्था तथा आम सरोकारवालाहरूमा अनुरोध छ," मन्त्रालयले भनेको छ ।

यस्तो भ्रामक एवम् मिथ्या सूचना सम्प्रेषण गर्ने र सरकारी कागजात, छाप एवम् दस्तखतको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्ने व्यक्ति पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन समेत मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ २०:३३