close

हास्य कलाकार सागर लम्साल ‘बले’ माथि एक युवतीले फेसबुकबाटै लगाइन् बलात्कारको आरोप

टेकपाना टेकपाना

चैत २०, २०८२ १०:८

हास्य कलाकार सागर लम्साल ‘बले’ माथि एक युवतीले फेसबुकबाटै लगाइन् बलात्कारको आरोप

काठमाडौँ । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बाट चर्चा कमाएका कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागको छ । शुक्रबार बिहान करिब २ बजे सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै एक युवतीले आफूमाथि अमेरिकामा बलात्कार भएको दाबी गरेकी हुन् ।

पीडित युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो । त्यतिबेला उनी गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी थिइन् र अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन् ।

सोही समयमा नेपालबाट उनको परिवारसँग वर्षौँदेखि जोडिएका केही व्यक्तिहरू अमेरिका पुगेका थिए । परिवारका सदस्यहरूले आफ्नै मान्छे भेट्दा मन हल्का होला भनेर सुझाएपछि उनले ती व्यक्तिहरूलाई भेट्न मन्जुर गरेकी थिइन् ।

युवतीले स्टाटसमा उल्लेख गरेअनुसार, उनले दाइ नाता लगाउने व्यक्ति (सागर लम्साल) लाई १० वर्षभन्दा अघिदेखि नै चिन्दथिन् । भेटघाटका क्रममा उनले ‘तिमी बस्ने ठाउँ हेरौँ’ भनेपछि युवतीले विश्वास गरेर उनलाई आफ्नो अपार्टमेन्टमा लगेकी थिइन् ।

“म आफ्नो मानसिक स्वास्थ्यको संघर्ष सुनाउँदै रुँदै थिएँ, तर मैले दाइ ठानेको मान्छे त राक्षस रहेछ,” उनले स्टाटसमा लेखेकी छिन्, म बलात्कृत भएँ ।"

उनले परिवारको इज्जत र मानसिक अवस्थाका कारण यति लामो समयसम्म यो कुरा लुकाएर राखेको तर अहिले जिउँदो लास जस्तो भएर बाँच्नुपरेकाले हिम्मत जुटाएर सार्वजनिक गरेको बताएकी छिन् । स्टाटसको अन्त्यमा उनले नामै किटेर प्रश्न गरेकी छिन्, “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ सागर लम्साल क्षेत्री ?”

उनले आफूले न्याय पाउनेमा शङ्का व्यक्त गर्दै दोषीले आफ्नो गल्तीको परिणाम भोग्नुपर्ने र अरू कोही कसैमाथि यस्तो अन्याय हुन नदिन यो कुरा सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । यस विषयमा आरोपित कलाकार लम्सालको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८२ १५:२१