close

पुराना पेट्रोलियम गाडीलाई ईभीमा बदल्ने कानुन ल्याउँदै सरकार, महावीर पुनको प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

टेकपाना टेकपाना

चैत २२, २०८२ १६:४६

पुराना पेट्रोलियम गाडीलाई ईभीमा बदल्ने कानुन ल्याउँदै सरकार, महावीर पुनको प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ । सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्न पाउने गरी आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि बहसको विषय बनिरहेको सवारी रूपान्तरण (कन्भर्सन) सम्बन्धी कानुनी बाटो खोल्ने निर्णय लिएको हो ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् वर्तमान सांसद महावीर पुनले उठाउँदै आएको यो एजेन्डालाई सरकारले सम्बोधन गरेपछि अब पुराना सवारी साधनलाई पुन: प्रयोगमा ल्याउन सहज हुने देखिएको छ । यो निर्णय आउनुअघि सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले आफूले लामो समयदेखि यसका लागि प्रयास गरेको स्मरण गरेका छन् । 

उनले लेखेका छन्, “पुराना गाडीलाई विद्युतीय गाडीमा बदल्ने (Conversion) प्रस्तावलाई सरकारले पक्कै पनि अगाडि बढाउनेछ । म मन्त्री हुनुभन्दा पहिले र आफैँ मन्त्री हुँदा पनि निकै प्रयास गरेको थिएँ । तर धमिरा तत्वहरूले अगाडि बढ्नै दिएनन् । अब धमिराहरूलाई औषधि छर्ने हो ।”

यसअघि कानुनको अभावका कारण विभिन्न विद्यार्थी, विश्वविद्यालय र सङ्घसंस्थाले पारेका विद्युतीय सवारीले सडकमा गुड्ने अनुमति (दर्ता) पाउन सकेका थिएनन् । नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले यो प्रस्तावलाई सफल बनाउन मन्त्रालय तहबाट भएको सक्रियताको प्रशंसा गरेका छन् । 

सांसद ढकालका अनुसार महावीर पुनले ल्याएको उक्त प्रस्तावलाई उनले पूर्ण समर्थन गरेका थिए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले विषयको गम्भिरता बुझेर तत्कालै प्रस्ताव अगाडि बढाएका थिए । 

ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी सबैलाई बधाई छ ! अब छिट्टै तपाईंहरूले आफ्नो डिजेल-पेट्रोल गाडीलाई इलेक्ट्रिकमा परिवर्तन गरी प्रयोग गर्न सक्नुहुनेछ । यदि यही रफ्तारमा काम भयो भने, हामी एक वर्षभित्रै ठुलो परिवर्तन ल्याउन सक्छौँ ।”

सरकारको यो निर्णयसँगै पुराना र कवाडीमा परिणत हुन लागेका सवारी साधनलाई वातावरणमैत्री बनाउन सकिने बाटो खुल्ने भएको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १६:५६