close

हुलाक अब ‘सरकारी कुरियर’: सेवाग्राहीको घरदैलोमा राहदानी र लाइसेन्स पुर्‍याउने सरकारको योजना

टेकपाना टेकपाना

चैत २३, २०८२ १९:३३

हुलाक अब ‘सरकारी कुरियर’: सेवाग्राहीको घरदैलोमा राहदानी र लाइसेन्स पुर्‍याउने सरकारको योजना

काठमाडौँ । सरकारले हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विकास गरी राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका महत्त्वपूर्ण सरकारी कागजातहरू नागरिकको घरदैलोमै पुर्‍याउने योजना अघि सारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको हो ।

यस अनुसार आगामी ९० दिनसम्ममा हुलाक सेवालाई सरकारी कुरीयर सेवाका रूपमा विकास गर्ने निर्णय भएको छ । ​हुलाक सेवामार्फत राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्डहरू ७७ ओटै जिल्लाका वितरण स्थलसम्म पुर्‍याइनेछ ।

सेवा प्रवाहको समय र लागतलाई थप घटाउन मन्त्रालयले हुलाकको विद्यमान ‘डाँक रेखा’  को पुनरावलोकन गर्ने भएको छ । यो पुनरावलोकन कार्य आगामी २०८३ वैशाख मसान्तभित्र सम्पन्न गर्ने मन्त्रालयको तयारी छ ।

यसका साथै, हुलाक सेवालाई स्वास्थ्य क्षेत्रसँग पनि जोडिने भएको छ । दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षणका नमुनाहरू सुरक्षित रूपमा प्रयोगशालासम्म ढुवानी गर्ने जिम्मेवारी समेत हुलाकलाई दिइने मन्त्रालयले जनाएको छ । यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को गत १३ चैतको निर्णय बमोजिम ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्न सञ्चार मन्त्रालयले यो १० बुँदे सुधारात्मक कार्ययोजना अघि सारेको हो ।

मन्त्रालयले तोकिएको समयसीमा भित्रै यी कार्यक्रमहरू कार्यान्वयन गरी नागरिकलाई प्रत्यक्ष लाभ महसुस गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि सम्बन्धित विभाग र जिम्मेवार अधिकारीहरूलाई स्पष्ट कार्यदेश समेत दिइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

*समाचारको शीर्षक परिमार्जन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ २१:२१