close

सरकारी ठेक्का प्रणाली ई-जीपीमा अनधिकृत पहुँच पुर्‍याई विवरण हेरफेर गर्ने ६ जना पक्राउ

टेकपाना टेकपाना

चैत २५, २०८२ २१:४३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत रूपमा प्रवेश गरी ठेक्काका महत्त्वपूर्ण विवरणहरू हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोको संयुक्त टोलीले उनीहरूलाई काठमाडौँ, भक्तपुर, गुल्मी र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय सञ्जय भट्ट, ३५ वर्षीय भाष्करराज अर्याल, ४० वर्षीय सागर कटुवाल र ६२ वर्षीय जीवन कुमार दास रहेका छन् ।

प्रहरीका अनुसार आरोपीहरूले ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्टहरू परिवर्तन गर्ने गरेको पाइएको छ । सोही सम्बन्धमा परेको उजुरीका आधारमा साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिएको थियो ।

पक्राउ परेकामध्ये दिवाकर देउजालाई फागुन २८ गते काठमाडौँको भोटाहिटीबाट नियन्त्रणमा लिइएको थियो भने अन्यलाई चैत महिनाको विभिन्न मितिमा पक्राउ गरिएको हो । भरत धामी र सञ्जय भट्ट चैत ११ गते, भाष्कर राज अर्याल र सागर कटुवाल चैत १७ गते तथा जीवन कुमार दास चैत २३ गते पक्राउ परेका हुन् ।

पक्राउ परेका ६ जनालाई नै हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारी प्रणालीमा नै अनधिकृत पहुँच पुर्‍याएर ठेक्का प्रक्रियालाई प्रभावित पार्ने गरी भएको यो कार्यलाई प्रहरीले गम्भीर अपराधको रूपमा लिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २१:४३