काठमाडाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विभिन्न राजनीतिक व्यक्तिलाई गालीगलौज गरी कन्टेन्ट बनाएको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरका रोशन पोखरेल रहेका छन् ।
उनले ‘Hades’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए । उक्त च्यानलमार्फत उनले विभिन्न सार्वजनिक पदमा रहेका व्यक्ति, राजनीतिक नेतृत्व तथा चर्चित व्यक्तिलाई लक्षित गरी गाली गर्ने, होच्याउने तथा आपत्तिजनक अभिव्यक्तिसहितका भिडिओ बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार पोखरेललाई २६ चैतमा फाल्गुनन्द गाउँपालिका-७ बाट पक्राउ गरिएको हो । “उनले टिकटक, इन्स्टाग्राम र युट्युबमा जथाबावी बोल्ने, छाडा कुराहरू गर्ने गरेको देखियो,” प्रहरी निरीक्षक शाहले भने, “प्रधानमन्त्री शाह लगायत अन्य राजनीतिक व्यक्तिलाई पनि गाली गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।”
पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरले २६ गतेदेखि नै लागु हुने गरी १० दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको आरोपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १६:२८
