close

६२ देशमा पुग्यो नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा, यस्तो छ सक्रिय गर्ने तरिका

टेकपाना टेकपाना

चैत २९, २०८२ १८:१५

६२ देशमा पुग्यो नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा, यस्तो छ सक्रिय गर्ने तरिका

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सुविधालाई विश्वका ६२ देशमा विस्तार गरेको छ । कम्पनीले ती देशका ८९ विभिन्न दूरसञ्चार सेवा प्रदायकहरूसँग सम्झौता गरी यो सेवालाई थप प्रभावकारी बनाएको हो ।

चालु आर्थिक वर्षको साउन महिनायता टेलिकमले लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकहरूसँग नयाँ सम्झौता गरेको टेलिकमले जनाएको छ । साथै, पाकिस्तान, बेलारुस र श्रीलङ्कामा रहेका थप नयाँ सेवा प्रदायकहरूसँग पनि रोमिङका लागि समझदारी भएको छ । यो सुविधा अन्तर्गत ग्राहकले विदेशमा रहँदा पनि भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य सबै देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने व्यवस्था मिलाइएको छ । भारतमा यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *1415*7# डायल गरी मेनुबाट 'Roaming' विकल्प छान्नुपर्ने हुन्छ । पोस्टपेड मोबाइलको हकमा भने यो सेवा सक्रिय गर्न मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनु अनिवार्य छ ।

यदि कुनै ग्राहकले नेपालमा रहँदा रोमिङ सेवा सक्रिय नगरी विदेश गएको भए, त्यहीँबाट पनि ईमेलमार्फत सेवा सुरु गर्न सकिनेछ । यसका लागि नेपाल टेलिकमको वेबसाइटबाट 'International Roaming' अन्तर्गत रहेको 'Prepaid Roaming Registration Form' डाउनलोड गरी भर्नुपर्नेछ । सो फारम र आफ्नो परिचयपत्र (नागरिकता वा पासपोर्ट) को प्रतिलिपि [email protected] मा ईमेल गरेपछि टेलिकमको सपोर्ट टिमले विवरण रुजु गरी सेवा सक्रिय गरिदिनेछ ।

रोमिङ सेवा सक्रिय भएपछि भारत बाहेकका अन्य देशमा मोबाइल सोही देशको नेटवर्कमा स्वतः कनेक्ट हुनेछ । भारतमा भने प्रिपेड र पोस्टपेड दुवै प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क छनोट गर्नुपर्ने हुन्छ । यदि अन्य देशमा पनि स्वतः कनेक्ट नभएमा मोबाइलको सेटिङमा रहेको 'Mobile Networks' मा गएर 'Search Networks' गरी नेटवर्क छान्न सकिन्छ ।

टेलिकमले आगामी दिनमा क्रमशः अन्य देशहरूमा पनि यो सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ । 

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १८:३१