close

प्रधानमन्त्री बालेनको खातामा १ करोड ४६ लाख, स्रोत सामाजिक सञ्जाल र म्युजिक प्लेटफर्म

टेकपाना टेकपाना

चैत २९, २०८२ २३:२२

प्रधानमन्त्री बालेनको खातामा १ करोड ४६ लाख, स्रोत सामाजिक सञ्जाल र म्युजिक प्लेटफर्म

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको आधिकारिक विवरणअनुसार उनको बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ नगद मौज्दात छ । उक्त रकमको मुख्य स्रोत फेसबुक, युट्युब, टिकटक, स्पटिफाई र आईट्युन्स जस्ता डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्मबाट प्राप्त आम्दानी रहेको उल्लेख गरिएको छ ।

यसअघि उनी र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियरको रूपमा सक्रिय थिए भने उनीहरूका गीत तथा कन्टेन्ट यी प्लेटफर्ममा लोकप्रिय छन् । उनको फेसबुकमा करिब ४२ लाख फलोअर, युट्युबमा १२ लाख ७० हजार सब्स्क्राइबर र टिकटकमा चार लाख ३१ हजार फलोअर रहेको उल्लेख छ ।

परिवारिक सम्पत्तिको विवरणमा प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेका नाममा १९० तोला सुनका गहना रहेको उल्लेख छ । यसबाहेक उनका बुवा रामनारायण शाहको नाममा महोत्तरी जिल्लामा ९ बिघा जग्गा, ध्रुवदेवी शाहको नाममा काठमाडौँमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री शाहले यसअघि काठमाडौं महानगरपालिकाको मेयरको रूपमा कार्य गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले अन्य मन्त्रीहरूको सम्पत्ति विवरण पनि एकैसाथ सार्वजनिक गरेको छ । तर प्रधानमन्त्री शाहको विवरणमा डिजिटल प्लेटफर्मबाट प्राप्त आम्दानीलाई मुख्य स्रोतका रूपमा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ ०:८