सञ्चालनमा आयो होटल, रिसोर्ट, भिल्ला र होमस्टे बुकिङ गर्न सकिने अनलाइन प्लेटफर्म ‘घुम नेपाल’
चैत ३०, २०८२ २१:५६
काठमाडौँ । नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ ट्राभल बुकिङ प्लेटफर्म ‘घुम नेपाल’ सञ्चालनमा आएको छ । यो प्लेटफर्ममार्फत पर्यटकले नेपालका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, भिल्ला, होमस्टे र अपार्टमेन्टहरू एकै ठाउँबाट सहजै बुकिङ गर्न सक्नेछन् ।
नेपाली आतिथ्य सत्कारलाई डिजिटल माध्यमबाट विश्वबजारमा जोड्दै पर्यटक र सेवा प्रदायकबिच विश्वसनीय सम्बन्ध स्थापना गर्न यो प्लेटफर्म ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक राजेनकाजी श्रेष्ठले स्टार्टअपको प्रवर्द्धन र पर्यटकको सहजताका लागि यो प्लेटफर्म कोसेढुङ्गा सावित हुने दाबी गरे ।
“हामीले हालसम्म काठमाडौँ उपत्यका, पोखरा, चितवन, जोमसोम, वीरगञ्ज, हेटौँडा र जनकपुरका १५० भन्दा बढी प्रमाणित (भेरिफाइड) प्रोपर्टीहरू सूचीकृत गरिसकेका छौँ,” श्रेष्ठले भने, “विस्तारै देशभरका अन्य पर्यटकीय गन्तव्यहरूलाई पनि यो सञ्जालमा समेट्दै लैजाने हाम्रो योजना छ ।”
यो प्रणाली नेपाली इन्जिनियरहरूद्वारा नेपालकै भौगोलिक अवस्था र बजारको मागलाई बुझेर तयार पारिएको हो । प्राविधिक रूपमा यो प्लेटफर्म 'माइक्रोसर्भिस-बेस्ड आर्किटेक्चर' र 'एडब्लूएस क्लाउड'मा आधारित छ ।
यसमा अन्तर्राष्ट्रिय प्लेटफर्महरूसँग ‘क्यालेन्डर सिङ्क’ गर्न मिल्ने विशेष सुविधा रहेको छ, जसले गर्दा एउटै कोठा दोहोरो बुकिङ हुने समस्या समाधान हुने र व्यवस्थापनमा सहजता आउने दाबी कम्पनीको छ ।
सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिँदै प्रणालीमा इन्क्रिप्सन प्रविधिको प्रयोग गरिएको छ । साथै, प्रमाणित होस्ट र गेस्टको व्यवस्थाले कारोबारलाई थप सुरक्षित बनाउनेछ ।
भुक्तानीका लागि आन्तरिक पर्यटकका लागि राष्ट्रिय र विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय भुक्तानी गेटवेहरू एकीकृत गरिएको छ । अन्तर्राष्ट्रिय कारोबारको हकमा प्रचलित कानुनी प्रक्रिया र नियामक निकायको स्वीकृतिअनुसार नै व्यवस्था मिलाइएको कम्पनीले प्रस्ट पारेको छ ।
सेवा शुभारम्भको अवसरमा ‘घुम नेपाल’ ले प्रयोगकर्ताका लागि विशेष छुटको घोषणा गरेको छ । ‘FIRSTSTAY’ कुपन कोड प्रयोग गरी पहिलो पटक बुकिङ गर्दा ग्राहकले एक हजार रुपैयाँ छुट पाउनेछन् । यो सेवा हाल वेबसाइटका साथै एप स्टोर र प्लेस्टोरमा पनि उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ २३:७
