close

भिजिट भिसा मार्फत कम्बोडिया पुर्‍याएर अनलाइन स्क्याममा लगाइएका ४६ नेपालीको उद्धार

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १२:४३

भिजिट भिसा मार्फत कम्बोडिया पुर्‍याएर अनलाइन स्क्याममा लगाइएका ४६ नेपालीको उद्धार

काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको छ । नेपाली राजदूतावास बैंककले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्बोडिया सरकार र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई ३० चैत्र र १ वैशाखमा नेपाल फर्काइएको हो ।

अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धारका लागि पनि पहल भइरहेको दूतावासले जनाएको छ । नेपाली नागरिकहरू कम्बोडियामा अनलाइन ठगी लगायतका गैरकानुनी काममा संलग्न रहेको र भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएपछि राजदूतावासले सचेत गराएको छ । कम्बोडिया सरकारले हालै अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गर्नेहरूलाई लक्षित गर्दै निकै कडा कानुन ल्याएको छ ।

यो नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङमा संलग्न हुनेलाई कामको प्रकृति हेरेर न्यूनतम २ वर्षदेखि आजीवन कैदसम्मको सजाय हुन सक्छ । साथै १ लाख २५ हजारदेखि ५ लाख अमेरिकी डलरसम्म जरिबाना लाग्ने व्यवस्थासमेत गरिएको छ । भिसा बिना वा भिसा अवधिभन्दा बढी समय बसिरहेका नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्किन राजदूतावासले अनुरोध गरेको छ ।

कम्बोडियाका स्क्यामिङ केन्द्रहरूले त्यहाँ कार्यरत नेपालीहरूको राहदानी (पासपोर्ट) कम्पनीमै जफत गर्ने गरेको वा एउटा केन्द्रबाट अर्कोमा ट्रान्सफर हुँदा राहदानी हराउने गरेको गुनासो धेरैको रहेको छ । यस्तो अवस्थामा स्वदेश फर्किन चाहने नेपालीहरूका लागि नेपाली राजदूतावास बैंककले बिना शुल्क 'एकतर्फी यात्रा अनुमतिपत्र' जारी गर्दै आएको छ । यस सम्बन्धी प्रक्रियाको विस्तृत विवरण दूतावासको वेबसाइटमा राखिएको छ।

कम्बोडियाको पर्यटन तथ्याङ्कअनुसार भिजिट भिसामा त्यहाँ जाने नेपालीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा अत्यधिक बढेको देखिन्छ । तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकामा सन् २०२२ मा १,९७७ जना पुगेका थिए । त्यसैगरी सन् २०२३ मा २,१४० जना, सन् २०२४ मा ६,४०४ जना र सन् २०२५ मा ९,६७६ जना नेपालीहरू कम्बोडिया गएको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा भिजिट भिसाको बहाना गरी रोजगारीका लागि नजान राजदूतावासले कडा चेतावनी दिएको छ ।

May be an image of text

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १२:४४